‘केन्द्रबिन्दु ईभी बज २०८२’ सफलतापूर्वक सम्पन्न, विद्युतीय सवारीकाे नीति र प्रवर्द्धनबारे गहन बहस

‘केन्द्रबिन्दु ईभी बज २०८२’ सफलतापूर्वक सम्पन्न, विद्युतीय सवारीकाे नीति र प्रवर्द्धनबारे गहन बहस

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक यही भदौ २२ गते ‘केन्द्रबिन्दु ईभी बज–पोलिसी डिस्कोर्स २०८२’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा नेपालको अटोमोबाइल उद्योगको अवस्था, चुनौती र सम्भावना, नेपाली बजारमा उपलब्ध प्रमुख ईभी ब्राण्ड, उपभोक्ताको रोजाइ, विद्युतीय सवारीका फाइदा तथा व्यवहारिक चुनौती, प्रयोगकर्ताको अनुभव, व्यवसायीको दृष्टिकोण र सरकारी नीतिबारे ३ वटा सेसनमा गहन छलफल भएको थियो ।

बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले उद्घाटन गरेको कार्यक्रमको पहिलो प्यानल डिस्कसनमा ‘सवारी साधन आयात, उत्पादन र जडान मापदण्ड निर्देशिका”का बारेमा पद्य ज्योति ग्रुप अफ कम्पनीजका अध्यक्ष सौरभ ज्योतिले किनोट स्पिच प्रस्तुत गर्दै ईभी र अन्य सवारी साधन सम्बन्धी सरकारले लिएको नीति र व्यवसायीहरुको धारणा र अन्य पक्षका वारेमा चर्चा गरे । नेपालमा हाल ७३ प्रतिशत ईभीमा रुपान्तरसँगै विश्वव्यापी रुपमै तेस्रो नम्बरमा रहेर नमुनाको रहेको र यो स्वगतयोग्य कुरा भएको बताएका उनले कर र शुल्क लगायतमा विशेष सहुलियत दिएका कारण यो सम्भव भएको बताए ।

यद्यपी उनले थपे, ‘२० प्रतिशत पब्लिक ट्रान्सपोर्टमा समेत जाने भनेको कुरा पूरा भएको छैन । चारपांग्रे अफोर्ड गर्न सक्ने करिव ५ प्रतिशत जनसंख्याले मात्र हो । मास ट्रान्सपोर्टेसन सर्वसाधारणलाई दिन नसक्दासम्म हामी सेफ रियालबल, क्लिन ट्रान्स्पोर्टेसन दिन सक्ने भन्ने हाम्रो पहिचान हुँदैन ।’ सर्वसाधारण सबैले प्रयोग गर्न सक्ने ईभी सवारी साधनमा जोड दिनु पर्ने उनको धारणा थियो ।

चर्चित टेलिभिजन प्रस्तोता समा थापाले सञ्चालन गरेको पहिलो प्यानल डिस्कसनका क्रममा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक ई. श्रीकान्त यादवले सवारी साधनको सुरक्षामूलक मापदण्ड निर्माण प्रक्रियाको बारेमा जानकारी गराउँदै सरोकारवाला निकायहरूसँगको छलफललाई आधार बनाउँदै कानुनी रूप दिने प्रक्रिया अघि बढेको जानकारी दिए ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)का वरिष्ठ उपाध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका निर्देशक आकाश गोल्छाले नीतिगत खाका राम्रो भएपनि कार्यान्वयन पक्षमा अझै चुनौती रहेको बताए । अटो पार्ट्सको आयात प्रक्रिया सरल बनाउन उनले अटो पाट्र्स आयातमा विभिन्न निकायबाट छुट्टाछुट्टै अनुमतिपत्र लिनुपर्ने झन्झटपूर्ण प्रक्रिया हटाउनुपर्ने माग गरे । भारतमा जस्तै जीएसटी घटाएर सहजता ल्याउनु पर्ने उनको भनाइ छ ।

कार्यक्रमका अर्का प्यानलिष्ट सिप्रदी ग्रुपका सीईओ तथा नाडा इलेक्ट्रिक भेइकल कमिटीका सभापति राजनबाबु श्रेष्ठले ईभी क्षेत्रका आफ्टर सेल्स सर्भिस, सेफ्टी र प्रदर्शनसम्बन्धी गुनासो केही हदसम्म जायज भएको स्वीकार गरे । “काठमाडौंमा सर्भिस र चार्जिङ नेटवर्क पर्याप्त भए पनि उपत्यका बाहिर समस्या देखिएको छ,” उनले भने । गुणस्तरीय उत्पादनको लागि एकरूप स्ट्यान्डर्ड निर्माणको आवश्यकता औंल्याउँदै उनले भने, “नेपालमा ईभी उद्योगको भविष्य उज्यालो छ, तर यसको लागि स्पष्ट र दीर्घकालीन नीतिको खाँचो रहेको र सरकालाई यस तर्फ ध्यान दिनुपर्छ ।”

यस्तै, नाडाका पूर्वअध्यक्ष कृष्णप्रसाद दुलालले नेपालमा अटोमोबाइल मात्र नभई कुनै पनि उद्योग दीर्घकालीन रूपमा टिक्नका लागि हालको पूर्वाधार अपर्याप्त रहेको औंल्याए । नेपाल जस्तो देशमा प्रशासनिक अवस्था र पूर्वाधारमा ठूलो लगानी गर्न आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार अहिलेको नीतिहरू छोटो अवधिका लागि लक्षित गरेर जस्तै, यो वर्ष कसरी चल्ने भन्ने मात्र छ, तर अब १० वर्षका लागि के गर्ने भन्ने सोच बनाएर अगाडि बढ्नु पर्नेछ ।

प्यानल डिस्कसनमा निजी क्षेत्र, सरकारी निकाय तथा नीति निर्माणकर्ताबीच सहकार्य गर्दै दिगो, सुरक्षित र सहज यातायात सेवा विकास गर्नुपर्ने साझा धारणा रहेको थियो ।

यसैबीच कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले यातायात अधिकार धेरै केन्द्रीय सरकारसँग रहे पनि ईभी प्रवर्धनमा ध्यान दिइएको बताए । ब्याट्री व्यवस्थापन, चार्जिङ स्टेसन, सर्भिसिङ र पाट्र्समा समस्या रहेको र केन्द्रीय सरकारले मापदण्ड बनाउनुपर्ने उनले बताए ।

प्रदेशमा साना ईभी बढी छन्, ठूला ल्याउन समस्या छ । निजी गाडी बढ्दै गएकोले सार्वजनिक यातायात प्रवर्धन आवश्यक रहेकोमा मन्त्रीले जोड दिए । कम्तीमा १५० जना सवार क्षमता सवारी ल्याउन निजी क्षेत्रसँग सहकार्य गरी सवारी परीक्षणमा निजी व्यवसायीसँग मिलेर काम गर्ने र लाइसेन्स छपाइ तथा ब्लुबुक सेवा डिजिटल बनाउने योजनामा सरकार रहेको उनले बताए ।

‘केन्द्रबिन्दु ईभी बज २०८२’को दोस्रो प्यानल डिस्कसनमा ‘नेपालमा ईभी अपनत्वः विकासका अवसर तथा चुनौतीहरू’ विषयमा छलफल भएको थियो ।

नेपाल इन्टरमोडल यातायात विकास बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेलले सञ्चालन गरेको यस छलफलमा नेपाल विद्युत प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, साइमेक्स इंक प्रालिको प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, वैकल्पीय ऊर्जा प्रवद्र्धन केन्द्रकी निर्देशक शुभलक्ष्मी श्रेष्ठ, नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मी रहेका थिए ।

सो अवसरमा साइमेक्स इंक प्रालिको निर्देशक यमुना श्रेष्ठले नेपालको भौगोलिक अवस्था र घरेलु ऊर्जाको उपलब्धताका कारण ईभीको प्रयोग बढिरहेको बताइन् । ईभीको सहजताले गर्दा यसप्रति मानिसहरूको आकर्षण बढेको पनि उनको दाबी थियो ।

‘अहिलेका ईभीहरू ४०० देखि ५०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता राख्छन्, तर दैनिक औसत ३०–४० किलोमिटर मात्र चलाइन्छ ।’ पिक पावरमा बचत गर्दै अफपिक आवरमा स्टोरेज प्रणाली विकास गरिनुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘६०ः४० वित्तीय नीतिको लागि राष्ट्र बैंकसँग छलफल आवश्यक रहेको छ ।’

ब्याट्री रिसाइक्लिङको विषयमा उनले थपिन्, ‘बीवाईडी कम्पनीले अमेरिकी र मलेसियन फर्महरूसँग सम्झौता गरेको छ, तर नेपालमै ब्याट्री रिसाइक्लिङ गर्नुपर्ने र हरेक ६ महिनामा आयात भएका गाडीहरूको विवरण वेबसाइटमा प्रविष्ट गर्न अनिवार्य गरिएको छ ।’

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकी निर्देशक शुभलक्ष्मी श्रेष्ठले नेपालमा सौर्य ऊर्जाको प्रयोग उल्लेख्य भए पनि ईभी चार्जिङका लागि अहिलेसम्म सौर्य ऊर्जा सीमित मात्रामा प्रयोग भइरहेको जानकारी दिइन् । ‘विद्युत ग्रिड अहिले ठिक छ, सौर्य ऊर्जा प्रयोग भविष्यमा सम्भाव्यता अध्ययन गर्ने छौं,’ उनले भनिन्। विन्ड उर्जा प्रयोग नगण्य भए पनि सौर्य छतमा इन्स्टलेसनमा उल्लेखनीय वृद्धि भएको उनको भनाइ छ ।

यसैगरी नेपाल बैंकर एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र राज रेग्मीले भने, ‘ईभीको लागि बैंकिङ लगानी ६०ः४० को नीति अनुसार अगाडि बढिरहेको छ । ब्याजदर पनि कम राख्नुपर्ने छ।’ नर्वेमा ईभी बिक्रीमा देखिएको वृद्धि र बीवाईडी कम्पनीको उत्पादन विस्तारको उदाहरण दिँदै उनले नेपालमा पनि सार्वजनिक यातायातका लागि विशेष प्रोत्साहन आवश्यक रहेको औंल्याए ।

यस्तै, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भने, ‘नेपालमा १ लाख किलोमिटर सडक सञ्जाल छ र चार्जिङ स्टेशनहरू स्थापना भइरहेको छ । अहिलेसम्म ६० भन्दा बढी स्टेशन स्थापना भइसकेका छन् भने १२४ स्थानमा थप स्थापना गर्ने योजना छ ।’

पूर्व–पश्चिम राजमार्ग र पर्यटकीय क्षेत्रहरूमा प्राथमिकता दिइने र दातृ निकायहरूसँग पनि सहकार्य रहँदै हाल ३५ सय मेगावाट विद्युत उत्पादन भइरहेको र चार्जिङ स्टेशनहरूको निरन्तर विकासमा करीब १.७५ अर्ब खर्च भइसकेको उनले जानकारी दिए ।

कार्यक्रमको तेस्रो प्यानल डिस्कसनअन्तर्गत ‘अटोमोबाइल र अर्थतन्त्र’ विषयमा किनोट स्पिकर अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरी, नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नबिल बैंकका सीईओ मनोज ज्ञवालीले अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था र आगामी चुनौतिहरूका विषयमा विमर्श गरेका थिए ।

अर्थसचिव घनश्याम उपाध्यायले समसामयिक आर्थिक परिसूचकहरूबारे प्रष्ट पार्दै नेपालको आर्थिक वृद्धि करिब ५ प्रतिशत नजिक पुगेको, मुद्रास्फीति न्यून रहेको, र विद्युतीय सवारीजस्ता हरित प्रविधिहरूमा सरकारको प्राथमिकता रहेको बताए ।

उनले ईभीको प्रयोगबाट प्रत्येक वर्ष करिब २० मिलियन अमेरिकी डलर बचत हुने तथ्यांक प्रस्तुत गर्दै, पूर्वाधार विकासमा सरकार–निजी साझेदारीको आवश्यकता पनि रहेको बताए ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालमा स्थिर नीतिको अभाव रहेकोमा जोड दिँदै पेट्रोलियम पदार्थमा लगाइएको २५० देखि ३५० प्रतिशतसम्मको उच्च कर अत्यधिक रहेको धारणा राखे ।

उनका अनुसार अटोमोबाइल व्यवसाय मानिसको आम्दानीसँग प्रत्यक्ष जोडिएको छ। यसकारण, कर नीति र बैंकिङ नीतिलाई स्वतन्त्र व्यवसायको हिसाबले हेर्नुपर्ने आवश्यकता छ । चेम्बरले यस क्षेत्रका कर संरचना, नीति स्थायित्व, र फाइनान्सिङको सहजताका लागि पटक–पटक सुझाव दिँदै आएको जानकारी गराए ।

यसैगरी नाडाका अध्यक्ष करण चौधरीले हालै सम्पन्न नाडा अटो शो २०२५ र नाइमा मोबिलिटी एक्सपो २०२५ ले बजारमा सकारात्मक ऊर्जा ल्याएको र आगामी ईभी बज २०२५ मार्फत विद्युतीय सवारीसाधनको प्रवर्धनमा टेवा पु¥याउने अपेक्षा व्यक्त गरे ।

उनले भने, “गाडी विलासिता होइन, अब आवश्यकता हो भन्ने सोच विकसित भइसकेको छ। सरकारको अस्थिर नीति, विशेष गरी युरो–६ जस्ता निर्णयहरू बिना पूर्वतयारी लागू हुँदा उद्योगमा अन्यौलता पैदा भएको छ, यसलाई प्रष्ट पार्नुपर्छ ।’

नबिल बैंकका सीईओ मनोज ज्ञवालीले आफूहरुले हालसम्म करिब ३१०० बढी ईभीमा ८ अर्ब रुपैयाँको फाइनान्सिङ गरेको तर, रिटेल क्षेत्रमा कर्जा नजाने नीति रहेको स्मरण गराउँदै राष्ट्र बैंकको सर्कुलर अनुसार कन्जम्सन लोनमा जानु अर्थतन्त्रका लागि राम्रो नभएको बताए ।

‘बैंकको कुल लगानीको ४५ प्रतिशत उत्पादनमूलक क्षेत्रमा जानुपर्ने नियम छ । अटो लोनमा डिफल्ट रेट कम देखिएपनि, पर्सनल अटो लोन राम्रो भए पनि कमर्शियल लोनमा केही समस्या रहेको छ ।’

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले ईभी बजारमा कीर्तिमानी वृद्धि भएपनि अस्थिर नीति प्रणालीले व्यवसायीहरूमा अन्यौलता रहेको र यस बहसबाट नीति निर्माणमा ठोस सुझाव आउने अपेक्षा राखे ।

‘गत आर्थिक वर्षमा नेपालमा आयात भएका चारपांग्रे सवारीमध्ये करिब ७३ प्रतिशत विद्युतीय सवारी थिए, जसले बजारको माग र सम्भावना देखाएको छ । नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेशन विस्तारमा जोड दिँदा आगामी दिनमा ईभीको प्रयोग अझ बढ्नुका साथै गत आर्थिक वर्ष २०८१/८२ मा नेपालमा झन्डै २३ हजार चारपांग्रे सवारीसाधन आयात भएका मध्ये करिब १६ हजार ७०१ वटा इलेक्ट्रिक सवारी थिए, जुन कुल आयातको ७३ प्रतिशत रहेको छ’ उनले भने, ‘तीमध्ये १३ हजार ५७८ युनिट ईभी कार, जीप र भ्यान थिए । अघिल्लो वर्षको तुलनामा यो ठूलो वृद्धि हो। कुल मिलाएर ४४ हजार ५३४ युनिट ईभी भित्रिए, जसबाट सरकारले २२ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।’

‘केन्द्रबिन्दु ईभी बज’ कार्यक्रमले सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरूलाई सँगै ल्याएर नेपालको विद्युतीय सवारी व्यवसायको दिगोपना र प्रवद्र्धनमा सहयोग पु-याउने उद्देश्यले सार्थकता पाउने उनले विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा एक विशेष जुरी निर्माण गरी ईभी क्षेत्रका उत्कृष्ट संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।

‘इलेक्ट्रिक रिभोलुसन इनिसिएटर अवार्ड’ -रेभा (महिन्द्रा)
‘पपुलर ईभी मोडल अवार्ड’ -एमजी एस५
‘ईभी सर्भिस एण्ड इन्फ्रास्ट्रक्चर लिडर अवार्ड’ -लक्ष्मी ग्रुप
‘मस्ट लक्जरीयस इलेक्ट्रिक एसयुभी अवार्ड’ -दिपल एस०७
‘बेस्ट कन्ट्रीब्युसन इलेक्ट्रिक भेहिकल अवार्ड’ -टाटा नेक्सन ईभी
‘ईभी चार्जिङ इन्फ्रास्ट्रक्चर डेभलपर अफ द इयर अवार्ड’ -जी मोटर्स
‘ईभी अफ द इयर २०२५ अवार्ड’ -बीवाईडी एट्टो३
‘बेस्ट मिड साइज प्रिमियम इलेक्ट्रिक एसयुभी अवार्ड’ -ओमोडा ई५
‘बेस्ट इमर्जिङ प्रिमियम ईभी अवार्ड’ -लिपमोटर बी१०
‘प्रमिसिङ इलेक्ट्रिक एसयुभी अवार्ड’ -जेइको जे५

त्यस्तै, कार्यक्रममा लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठलाई नेपालको औद्योगिक विकासमा समर्पित एक प्रेरणादायी व्यक्तित्वको रूपमा देखाएको दूरदृष्टि, परिश्रम, लगनशीलता र नेतृत्व क्षमताको कदर गर्दै लाइफटाइम अटोमोटिभ भिजिनरी अबार्डबाटबाट सम्मान गरिएको थियो ।

नेपालमा ईभी प्रवद्र्धनमा उल्लेखनीय योगदान पु-याउने लोकेश वलीलाई इन्फ्लुएन्सर एण्ड कन्टेन्ट क्रिएटर इन ईभी अवार्ड, अटो पत्रकारितामा समर्पित योगदानको सम्मान गर्दै पत्रकार सागर गजुरेललाई र युवा उद्यमी आईएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकाललाई ‘युथ आइकन इन ईभी इन्टरप्रेनरसीप अवार्ड’बाट मुख्यमन्त्री बानियाँले सम्मान गरेका थिए ।

साे अवसरमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले उत्पादनसँग जोडेर निजी क्षेत्रका लागि विशेष नीति ल्याउने तयारी गरिरहेको बताए । युवाहरूलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उनले भने, “अब हामीले उत्पादनमा जोड दिनुपर्छ। युवाहरूलाई स्वदेशमै गरिखाने वातावरण बनाउनु हाम्रो मुख्य लक्ष्य हो।” ‘ठगी खाने र मागी खाने’ वर्गको अन्त्य गर्नु आवश्यक रहेकोमा उनकाे जोड थियाे । ईभी क्षेत्रका सकारात्मक र नकारात्मक पक्ष पनि उनले औ‍ंल्याएका थिए ।

कार्यक्रममा विद्युतीय सवारी क्षेत्रको वर्तमान अवस्था, भविष्यमुखी सम्भाव्यता तथा आवश्यक नीतिगत सुधारहरूबारे व्यापक छलफल भएको उल्लेख गर्दै केन्द्रबिन्दु मिडिया प्रालिका प्रधानसम्पादक विदुर खतिवडाले यो पहलले नेपालको ईभी क्षेत्रलाई स्पष्ट दिशा दिनुका साथै सरकारी र निजी क्षेत्रबीच सहकार्यको बातावरण थप बलियो बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अटाेमाेबाइल क्षेत्रदेखि विभिन्न संघसंस्थाका व्यक्तित्वहरुकाे उल्लेख्य सहभागिता रहेको थियो । केन्द्रबिन्दु ईभी बजकाे मुख्य प्रायोजकको रूपमा ओमोडा एण्ड जेइकोकाे सहभागी थियो भने सहआयोजक राइड नेपाल तथा विशेष प्रायोजक ग्लोबल आइएमई बैंक रहेका थिए। कार्यक्रमका अन्य सहयोगीहरुमा लिप मोटर्सले प्राविधिक रूपमा सहयोग पु-याएको थियो भने सरकारी सहकार्यका रूपमा बागमती प्रदेश सरकार, नेपाल विद्युत प्राधिकरण (नेपाल विद्युत प्राधिकरण) र नासा एफआईए, बैंकिङ साझेदारको रूपमा नबिल बैंक लिमिटेड, यातायात साझेदारको रूपमा बीवाईडी र इनड्राइभ नेपाल, रसुवा वाटर्स, सावित्री–कञ्चनजङ्घा अगरबत्ती, मेरिना इम्पेक्स, ईभी सवारी साझेदारका रूपमा जिकर र व्यावसायिक ईभी साझेदारमा फोटोन रहेका थिए ।

त्यसैगरी, शैक्षिक साझेदार एनसीसीएस कलेज, सञ्चार साझेदार नेपाल टेलिकम,रहेको थिए भने कार्यक्रमको सम्पूर्ण व्यवस्थापन एभरेस्ट एड एन्ड इभेन्ट म्यानेजमेन्टले गरेको थियो । केन्द्रबिन्दु ईभी बज २०२५ कार्यक्रम ईभीसम्बन्धी प्रविधि, पूर्वाधार, नीति र लगानीका विविध आयाममा केन्द्रित रहेर नीतिगत बहसको महत्वपूर्ण मञ्चको रूपमा स्थापित भएको छ ।

Skip This
Skip This
Logo