काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि नेपाली अटाे क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार सागर गजुरेल ‘मस्ट प्रमिनेन्ट अटो जर्नालिस्ट अवार्ड’ बाट सम्मानित भएका छन् ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक भएको ‘केन्द्रबिन्दु ईभी बज पोलिसी डिस्कोर्स २०८२’का अवसरमा आर्थिक तथा विशेषगरी अटोमोबाइल पत्रकारितामा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै गजुरेललाई उक्त अवार्ड प्रदान गरिएको हो।
नुवाकोटको बेलकोटगढी–१ मा जन्मिएका गजुरेल नेपाली पत्रकारिताको परिचित नाम हुन्। दुई दशकभन्दा बढी समयदेखि आर्थिक पत्रकारितामा कलम चलाउँदै उनले अटोमोबाइल क्षेत्रमा गहिरो छाप छाडेका छन् ।
गजुरेलले वि.सं २०५८ सालमा डकुमेन्ट्री मुभीमार्फत आफ्नो पत्रकारिता यात्राको सुरुवात गरेका थिए । वि.सं. २०६४ सालमा चाणक्य म्यागजिनमा आर्थिक विषयमा लेखन सुरु गरेपछि उनले पेशागत परिचयलाई नयाँ उचाइमा पुर्याए। आर्थिक क्षेत्रको गहिरो अध्ययन र विश्लेषण गर्ने उनको शैलीले गर्दा पाठकमाझ चाँडै नै विश्वासिलो पत्रकारका रूपमा स्थापित भए ।
वि.सं २०७५ सालदेखि सागर गजुरेल ‘मेरो अटो डटकम’ का प्रधान सम्पादकका रूपमा कार्यरत छन् । आधुनिक जीवनशैली र प्रविधिसँग जोडिएको अटोमोबाइल क्षेत्रमा विशिष्ट स्थान बनाएको यस डिजिटल पोर्टलमार्फत उनले पाठकमाझ निरन्तर अटो सम्बन्धी जानकारीमूलक सामग्री पस्किरहेका छन् । अटो सेक्टरका नयाँ मोडल, बजार प्रवृत्ति, नीति–नियम र उपभोक्तामैत्री जानकारीलाई सरल भाषामा प्रस्तुत गर्ने उनको शैली निकै प्रशंसनीय मानिन्छ।
सृजनशील सोच, विश्लेषणात्मक दृष्टि र पत्रकारिताप्रतिको अटूट समर्पणकै कारण सागर गजुरेल आज अटोमोबाइल पत्रकारिताको पर्यायझैं बनेका छन्। उनी आफ्ना लेख र सम्पादनमार्फत पाठकलाई केवल सूचना दिने मात्र होइन, सचेत र सक्षम उपभोक्ता बनाउन निरन्तर प्रयत्नशील छन्।





























प्रतिक्रिया