काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको विकास र समृद्धीका लागि अर्थतन्त्रको प्रणालीमै सुधार गर्नुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई स्वागत गर्ने कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । पौडेलले देश विकासमा अर्थतन्त्रको महत्वपुर्ण योगदान हुने भन्दै अर्थतन्त्र सुधारमा राजनीतिक स्थायित्व, लगानी मैत्री वातावरण, निजी क्षेत्रको मनोबलमा अभिवृद्धि आवश्यक भएको बताए ।
यस्तै उनले व्यवसायी जोगाउनका लागि अर्थतन्त्रको प्रणालीमै सुधार गर्नुपर्ने जरुरी रहेको समेत स्पष्ट पारेका छन्। कतिपय अवस्थामा कानुन स्पष्टता नहुँदा काम गर्न समस्या भएको उल्लेख गर्दै पौडेलले कानुनको भाव अनुसारको स्पष्टता हुनु जरुरी भएको उल्लेख गरे।
मुलुकमा पछिल्लो समय उत्पन्न परिस्थितिबाट अगाडि बढ्ने क्रममा आइपर्ने समस्या समाधानका लागि पनि कानुनी स्पष्टता जरुरी रहेको उनको भनाई छ । “कानुनको स्पष्टता सबै क्षेत्रमा आवश्यक पर्छ, विशेष गरी पत्रकारहरुले समाचार लेख्ने क्रममा कानुनको व्याख्या राम्रो नभए गलत सन्देश जाने जोखिम हुन्छ, यसमा सबै सचेत हुनुपर्छ”, उनको स्पष्टोक्ती रहेको छ।
जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि स्रोतको अभाव नहुने पौडेलले बताए । “पुनःनिर्माणका लागि ठूलो स्रोत आवश्यक छ, यद्यपि त्यो भन्दा महत्वपूर्ण विषय सुशासन र प्रशासनिक कार्यक्षमतामा सुधार हो”, उनले भने ।
प्रदर्शनका क्रममा निजी क्षेत्रमाथि पनि आक्रमण हुनुले व्यवसायीमा चिन्ता थपिए पनि अब निजी क्षेत्रको मनोबल उच्च बनाउँदै अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरे।
“प्रदर्शनका क्रममा कैयौँ निजी व्यापारिक भवनमा क्षति पुगेको छ, तर अब हाम्रो प्राथमिकता स्वदेशमा लगानीको वातावरण निर्माण गरी विदेशी लगानी आकर्षित गर्नमा हुनुपर्छ, त्यसैले सुरुमा स्वदेशको लगानीलाई यहीँ रोक्ने वातावरण बनाउन सकियो भने अर्थतन्त्रमा गतिशिल हुन लामो समय लाग्दैन”, गर्भनर पौडेलको भनाई छ ।































प्रतिक्रिया