नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा २५ जिल्ला अध्यक्षको प्रधान समूहलाई भोट हाल्ने निर्णय

नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा २५ जिल्ला अध्यक्षको प्रधान समूहलाई भोट हाल्ने निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढिरहेका बेला लुम्बिनी र कर्णाली प्रदेशका २५ जिल्ला अध्यक्षहरुले वरिष्ठ उपाध्यक्षमा किशोरकुमार प्रधान समूहलाई मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य महासंघले लुम्बिनी र कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरुको उपस्थितीमा भएको भेलामा जिल्ला अध्यक्षहरुले महासंघको सुदृढिकरण र शुद्धिकरणका लागि प्रधान समूहले अगाडि सारेका मुद्दामा आफूहरुको प्रतिवद्धता जाहेर गर्दै प्रधान समूहको पक्षमा मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन । कार्यक्रममा निर्वतमान अध्यक्ष पशुपति मुरारका र पूर्वअध्यक्ष कुसकुमार जोशीले महासंघलाई सवल नेतृत्व प्रदान गर्न वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको विकल्प नरहेको बताए । मंशिर १३ गतेबाट स्वतहः अध्यक्ष बन्ने सेखर गोल्छाले आफ्नो कार्यकाल सफल बनाउन किशोर प्रधान समूह रोजेकाले अध्याधिक मत दिएर संस्थापन पक्षलाई बिजयी गराउन निवर्तमान अध्यक्ष मुरारकाले आग्रह समेत गरे ।

लुम्बिनी र कर्णालीका जिल्ला अध्यक्षहरुको भेलालाई अध्यक्ष भवानी राणा र भावी अध्यक्ष शेखर गोल्छाले भिडियो सन्देशमार्फत किशोर प्रधान र उनको समूहलाई बिजयी गराउन अपिल गरेका थिए । भेलाको आयोजना गरेको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुलवाहिर मन्सुरीले भेलामा २ वटा प्रदेशका २५ जिल्ला अध्यक्षहरुले सामूहिक रुपमा शेखर गोल्छा नेतृत्वको किशोर प्रधानको टीमलाई मत दिएर निर्वाचित गराउने निणर्य गरेको जानकारी दिए । भेला समापनपछि निकै प्रफुल्ल मुद्रामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले कर्णाली र लुम्बिनी प्रदेशबाट आफ्नो समूहलाई ८० प्रतिशत मत प्राप्त हुने दाबी गरेका छन् ।

प्रधानले सञ्चारकर्मीसँग बोल्दै गलत प्रचार र दाबीको पछाडि नलाग्न आग्रह गदैं यसपालीको निर्वाचनमा आफनो जित सुनिश्चित भएको बताए । भेलामा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर राउत, मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढा, हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामग्याल लामा, डोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष लालीमान बुढा, जाजरकोटा उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्री, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णाकुमार रेग्मीलगायतका २५ जिल्ला अध्यक्षहरु सहभागी थिए । भेलालाई पूर्व अध्यक्षका अलावा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान, जिल्लानगरका उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ र जिल्ला नगरबाट केन्द्रीय सदस्यका उम्मेदवार अरुणराज सुमार्गीलगायतले सम्वोधन गरेका थिए ।

Logo