भोजपुर । भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीमाथि निर्माणाधीन चुहार पक्की पुल पाँच वर्ष बितिसक्दा पनि अपूरो छ । दुई वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित वि.सं. २०७७ सालमा सुरु गरिएको निर्माण कार्य हालसम्म रोकिएको अवस्थामा छ ।
कोशी प्रदेश सरकारले रु. २१ करोड २३ लाख १२ हजार लागतमा कालिका–प्यासेफिक जेभीलाई पुल निर्माणको जिम्मा दिएको थियो। सुरुमा दुवै तर्फ पिलर निर्माण सुरु भए पनि काम निरन्तरता नपाएर अधुरै छोडिएको हो।
लामो समयदेखि अलपत्र बनेको पुल निर्माणमा ढिलाइ भएपछि भोजपुरका तीन स्थानीय तह—रामप्रसादराई, हतुवागढी र आमचोक गाउँपालिकाले संयुक्त बैठक बसेर प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन्। दक्षिणी क्षेत्र हुँदै तराईका जिल्लासँग जोडिने प्रमुख मार्गका रूपमा रहेको चुहार पुल निर्माण रोकिएपछि स्थानीयवासी वर्षौंदेखि जोखिमपूर्ण रूपमा दूधकोशी पार गर्दै आवतजावत गर्न बाध्य छन्।
२०७७ साल असोज २७ गते शिलान्यास गरिएको यो पुलले भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुर र उदयपुरको वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्नेछ। पुलको लम्बाइ ९० मिटर र चौडाइ फुटपाथसहित साढे १० मिटर रहनेछ ।
स्थानीयवासीका अनुसार पुल बनेपछि यो क्षेत्रको आवागमन, व्यापार तथा सामाजिक सम्पर्कमा ठूलो सहजता आउनेछ। तर, निर्माण कार्य लामो समयदेखि ठप्प हुँदा उनीहरू निराश भएका छन्।





























प्रतिक्रिया