काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, नेपालको अग्रणी राष्ट्रिय स्तरको विकास बैंकहरू मध्ये एक हो । ग्राहकको हितमा तत्पर यस बैंक आफ्नो दोस्रो दशकको सफलतापूर्वक समापन गरी तेस्रो दशकको यात्रामा प्रवेश गरेको छ।
२०८२ कात्तिक १३ गतेबाट सांग्रिला डेभलपमेन्ट बैंक २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको हो । यस विकास बैंकले ४६ जिल्लाका ८२ वटा स्थानीय तहमा १०९ वटा शाखा मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । ग्रामीण तथा शहरी क्षेत्रमा वित्तीय सेवा विस्तार गर्दै आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको यस बैंकमा ५ लाख ९२ हजार ग्राहक रहेका छन् ।
बलियो शाखा सञ्जाल, डिजिटल सेवाहरूमा जोड, र सामाजिक उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धताले यसलाई विकास बैंक क्षेत्रमा एउटा सशक्त स्थानमा पुर्याएको छ।
पोखराबाट २०६४ साल भदौ ९ गतेदेखि कारोबार थालेको सांग्रिला डेभलपमेन्ट बैंक र २०६१ साल कार्तिक १३ गतेदेखि नेपालगञ्जबाट सञ्चालनमा आएको बागेश्वरी डेभलपमेन्ट बैंक बीच मर्ज भएपछि सांग्रिला डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको हो। यस डेभलपमेन्ट बैंकले २०७४ साल असार ३० गते कसमस डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको थियो ।
आव २०८१/८२ को चौथो त्रैमाससम्म सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ६० करोड रुपैयाँ जम्मा रहेको छ भने सञ्चित नाफा ४१ करोड ३८ लाख रुपैयाँ रहेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले आ व २०८१/८२ को चौथो त्रैमास सम्ममा ५६ अर्ब १९ करोड ७३ लाखरुपैयाँ निक्षेप संकलन गरेको छ भने ४५ अर्ब ८८ करोड ९७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ५३ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड रुपैयाँ गरेको छ । बैंकको कुल सम्पत्ति ६३ अरब ४१ करोड ८० लाख भन्दा बढी रहेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा उज्वल सत्याल रहेका छन् । सदस्यहरूमा सुनिल काजी बानियाँ, गंगा सागर ढकाल, नरेश ढुङ्गाना, लीसा शेरचन, सुजनसिद्धि बज्राचार्य र रवीन्द्र नारायण प्रधान रहेका छन् । यसैगरी अनुभवी बैंकर सुयोग श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत रहेको यस डेभलपमेन्ट बैंकको प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रमुख कर्जा अधिकृत रजित मास्के रहेका छन् ।
‘स्थानीय विकासको आधार’ भन्ने मूल नारा रहेको सांग्रिला डेभलपमेन्ट बैंकले स्थापनाकालदेखि नै “सर्वसुलभ वित्तीय पहुँच” भन्ने मूल मन्त्रका साथ ग्रामीण र दुर्गम क्षेत्रसम्म बैंकिङ सेवा पुर्याउने लक्ष्य लिएको छ । बैंकको डिजिटल प्लेटफर्म मार्फत मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, अनलाइन बिल भुक्तानी र इन्टरनेट बैंकिङ सेवा उपलब्ध छन् । बैंकले व्यक्तिगत, घर निर्माण, साना व्यवसाय, कृषि तथा गाडी कर्जा उपलब्ध गराउँदै आएको छ । साथै बालबालिका, महिला र ज्येष्ठ नागरिकका लागि बचत खाता सञ्चालन गरिरहेको छ ।
सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत आ व २०८१/८२ मा यस बैंकले कर्णाली प्रदेशका चार वटा स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरको छ । यस्तै जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको प्रहरी वृत्त दरबारमार्गलाई कम्प्युटर, प्रिन्टर र फोटोकपी मेसिन उपलब्ध गराएको छ ।
२०औं वार्षिकोत्सव मनाउँदै गर्दा बैंकले डिजिटल बैंकिङलाई थप मजबुत बनाउने, ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्ने तथा दिगो विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ। विशेष रूपमा, ‘साग्रिला ग्रीन सेभिङ’ जस्ता वातावरणमैत्री कार्यक्रमहरूलाई निरन्तरता दिँदै कार्बन न्यूट्रल बैंकिङतर्फ अघि बढ्ने योजना छ। यसबाहेक, प्रविधिमा आधारित मोबाइल बैंकिङ, ई-वालेट एकीकरणलाई प्राथमिकता दिइने प्रतिबद्धता जाहेर गरेको छ ।





























प्रतिक्रिया