बैंकहरुको ६ महिने वित्तीय प्रतिवेदन : १६ बैंकको नाफा २ प्रतिशतदेखि ६२ प्रतिशतसम्म घट्यो

बैंकहरुको ६ महिने वित्तीय प्रतिवेदन : १६ बैंकको नाफा २ प्रतिशतदेखि ६२ प्रतिशतसम्म घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्म २७ वटै वाणिज्य बैकहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा खुद आम्दानीको नाफा मिश्रित देखिएको छ । कतिपय बैंकहरुले गत आर्थिक बर्षको तुलनामा खुद आम्दानी बढाएका छन् भने धेरैजसो बैंकको नाफामा गिरावट आएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका अधिकांश बैंकहरुको नाफा घटेको छ । बिहीबार मात्रै १७ बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये ग्लोबल आइएमई, एनआईसी, एनएमबी र प्राइम कर्मशियल बंैकको नाफा बढेको छ । बाँकी सबैको नाफा घटेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास अवधिमा सबैभन्दा धेरै कुमारी बैंकको ५१.५० प्रतिशतले नाफा वृद्धि भएको छ भने सबैभन्दा धेरै हिमालयन बैंकको ६१.५१ प्रतिशतले नाफा घटेको छ । त्यस्तै नाफा बढ्ने बैकहरुमा एनएमवी, प्रभु, प्राइम बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंक, सिटिजन्स बैंक, नेपाल बंगलादेश बैंक, एनआईसी एशिया बैंक, सनराइज बैंक गरि १० वाणिज्य बैंकको नाफा पनि बढेको छ ।

त्यस्तै यही अवधिमा हिमालयन बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, एभरेष्ट बैंक, सिभिल बैंक, सेञ्चुरी बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, र नेपाल बैंक गरी १६ बैंकको नाफा घटेको छ । बैंकहरुको नाफा सवा प्रतिशतदेखि साढे ६२ प्रतिशतसम्म घटेको छ । विदेशी संयुक्त लगानी भएका सबै बैंकको नाफामा गिरावट आएको देखिन्छ ।

चालु आर्थिक वर्षको यो अवधिमा पनि कोरोना महामारीको असरका कारण बैंकहरुले ऋण उठाउन नसकेको तथा राष्ट्र बैंकले स्प्रेडमा निकै कडाइ गरेर स्प्रेड दर ४.४ प्रतिशतभन्दा तल ल्याउनु परेका कारण बैंकहरुको खुद ब्याज आम्दानी प्रभावित भएर नाफा घटेको देखिएको छ । नाफा घट्ने बैंकहरुमा नबिल बैंक र माछापुच्छ्रे बैंकको नाफा सबैभन्दा थोरै २ प्रतिशतको हाराहारीले घटेको छ भने बाँकी बैंकहरुको १० प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

कुन बैंकको कति नाफा कति घाटा ? यस्तो छ विवरण
१.नबिल बैंक
निजी क्षेत्रको अग्रपंक्तिमा रहँदै आएको नबिल बैंकको चालू आबको पहिलो ६ महिनाको नाफामा सामान्य गिरावट आएको छ । बैंकले सो अवधिमा २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । बैंकले सो अवधिमा निक्षेप संकलन १ खर्ब ९० अर्ब रुपैयाँबाट बढाएर २ खर्ब रुपैयाँ पुर्याउँदा कर्जा प्रवाह १ खर्ब ४८ अर्ब रुपैयाँबाट बढाएर १ खर्ब ७० अर्ब रुपैयाँ पुर्याएको छ । नबिल बैंकको चुक्तापूँजी १३ अर्ब ४८ करोड रुपैयाँ रहेको बैंकको जगेडाकोषमा १३ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

बैंकले कर्जा परिचालन बढाएपनि सो अवधिमा खुदब्याज आम्दानी तथा अन्य सञ्चालन आम्दानीमा भने कमी आएको छ । बैंकले कोरोना अबधिमा पनि आफ्नो खराब कर्जा भने घटाएको छ । नाफा सामान्य गिरावट आएको सो बैंकको प्रतिशेयर आम्दानी पनि ४५ रुपैयाँ १६ पैसाबाट घटेर ४० रुपैयाँ ७१ पैसामा झरेको छ ।

२.एभरेष्ट बैंक
एभरेष्ट बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ९६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४ करोड ७९ लाख रुपैयाँ अर्थात ३६.२९ प्रतिशत कमि आएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६७ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब १ करोड १७ लाख रुपैयाँबाट घटेर १ अर्ब ८९ करोड ७ लाख रुपैयाँमा झरेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ७८ करोड ३० लाख रुपैयाँ घटेर १ अर्ब ३७ करोड ३९ लाख रुपैयाँमा सीमीत भएको छ । पुस मसान्तसम्ममा ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी रहेको यस बैंकको जगेडाकोषमा ८ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्तापूँजी ८ अर्ब ५१ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ८ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानीमा उल्लेख्य गिरावट आएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३५ रुपैयाँ ४८ पैसा रहेको बैंकको डाइलुटेड प्रतिशेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २१ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

३.स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार व्यवसायसँगै खुदनाफामा पनि कमी आएको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ७२ करोड ७६ लाख रुपैयाँ खुदनाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९ करोड ९२ लाख रुपैयाँ अर्थात ४०.६९ प्रतिशत कमी आएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड ६९ लाख रुपैंयाँ खुदनाफा कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६१ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुदब्याज आम्दानी ३७.२८ प्रतिशत घटेर १ अर्ब १५ करोड २१ लाख रुपंैयाँमा समेटिएको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ४०.६९ घटेर १ अर्ब ४ करोड ४० लाख रुपैयाँमा सीमीत भएको छ । पुस मसान्तसम्ममा ८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ चुक्तापूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ७७ करोड ६७ लाख रुपैंयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्तापूँजी ८ अर्ब १ करोड रुपैंयाँ हुँदा जगेडा कोषमा ५ अर्ब ५७ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३० रुपैयाँ ६३ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १६ रुपैयाँ ९८ पैसामा झरेको छ । पछिल्लो ६ महिनामा बैंकको निक्षेप ९५ अर्ब २ करोड रुपैयाँबाट घटेर ८३ अर्ब ५० करोड रुपैयाँमा झरेको छ । त्यस्तै, बैंकको कर्जा लगानी ५३ अर्ब ९२ करोड रुपैयाँबाट घटेर ५३ अर्ब १२ करोड रुपैयाँमा सीमीत भएको छ ।

४.एनएमबि बैंक
एनएमबि बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वित्तीय विवरण अनुसार नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ खुदनाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ करोड ११ लाख रुपैंयाँ अर्थात ४७.६९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३ करोड ५१ लाख रुपैंयाँ बढेर २ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ७२ करोड ४० लाख रुपैयाँ बढेर २ अर्ब २९ करोड ९३ लाख रुपैयाँ पुगेको छ । साउनदेखि पुस मसान्तसम्ममा १४ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ चुक्तापूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब १० करोड ९२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्तापूँजी १३ अर्ब ९५ करोड रुपैयाँहुँदा जगेडा कोषमा ५ अर्ब १२ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २० रुपैयाँ ३१ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २२ रुपैयाँ ५० पैसा पुगेको छ । पछिल्लो ६ महिनामा बैंकको निक्षेप १ खर्ब ३१ अर्ब ६६ करोड रुपैंयाँबाट बढेर १ खर्ब ४२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब १५ अर्ब ६६ करोड रुपैयाँबाट बढेर १ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

५.ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वित्तीय विवरण अनुसार सवा २ अर्बभन्दा बढी खुदनाफा आर्जन गर्न सफल भएको छ । नेपालको सबैभन्दा ठूलो बैंक तथा नाफा पनि राम्रै कमाउन सफल भएको छ । चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा बैंकले २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुदनाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२ करोड ९२ लाख रुपैयाँ अर्थात ३७.३२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुदब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुदनाफा पनि बढ्न पुगेको देखिन्छ । बैंकको यो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४३ करोड २० लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुदब्याज आम्दानी १ अर्ब २२ करोड ३१ लाख रुपैयाँ बढेर ४ अर्ब ७७ करोड १८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ८६ करोड ८६ लाख रुपैयाँ बढेर ३ अर्ब २३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ चुक्तापूँजी रहेको यस बैंकको जगेडाकोषमा ७ अर्ब ७० करोड ८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्तापूँजी १८ अर्ब ९७ करोड रुपैंयाँ हुँदा जगेडा कोषमा ८ अर्ब १७ करोड रुपैयाँ रहेको थियो । पछिल्लो ६ महिनामा बैंकको निक्षेप २ खर्ब १२ अर्ब ३१ करोड रुपैंयाँबाट बढेर २ खर्ब ३४ अर्ब ४१ करोड रुपंैयाँ पुगेको छ । त्यस्तै, बैंकको कर्जा लगानी १ खर्ब ९० अर्ब ३३ करोड रुपैंयाँबाट बढेर २ खर्ब ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

६.माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको निष्क्रिय कर्जा बढेपछि खुदनाफा घटेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ८० करोड २७ लाख रुपैयाँ खुदनाफा कमाएको छ । यो गत आर्थिकवर्षको सोही अवधिको तुलनामा १ करोड ९० लाख रुपैयाँ अर्थात २.३२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८२ करोड १८ लाख रुपैयाँ खुदनाफा कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४५ करोड २२ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुदब्याज आम्दानी १५ लाख ५६ हजार रुपैयाँ बढेर १ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ८ करोड १ लाख रुपैयाँ घटेर १ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा ९ अर्ब ५ करोड ३० लाख रुपैयाँ चुक्तापूँजी रहेको यस बैंकको जगेडाकोषमा २ अर्ब ४६ करोड २१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्तापूँजी ८ अर्ब ४५ करोड रुपैंयाँ हुँदा जगेडा कोषमा २ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । पछिल्लो ६ महिनामा बैंकको निक्षेप १ खर्ब ४ अर्ब ९ करोड रुपैयाँबाट बढेर १ खर्ब १८ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको कर्जा लगानी ९२ अर्ब ५२ करोड रुपैयाँबाट बढेर १ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

७.हिमालयन बैंक
हिमालयन बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको आम्दानी घटेसँगै खुद नाफा पनि घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको तुलनामा ६२.५० प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ७४ करोड रुपैयाँ खुदनाफा कमाएको बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा ६५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १ अर्बभन्दा बढीले घटेको हो ।

बैंकको खुद ब्याज आम्दानी तथा अन्य सञ्चालन आम्दानीमा कमी आउँदा उसको नाफामा दबाब परेको हो । बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५७ करोड रुपैयाँबाट घटेर १ अर्ब ७५ करोड रुपैयाँमा झरेको छ । बैंकको सञ्चालन नाफा पनि घटेर ९८ करोडमा झरेको छ । गत वर्ष यस्तो नाफा २ अर्ब ११ करोड थियो । बैंकले खर्च भने खासै बढ्न दिएको छैन । उसको कर्मचारी खर्च ८८ करोडबाट ७४ करोडमा झरेको छ भने अन्य सञ्चालन आम्दानी पनि झण्डै ७ लाख रुपैयाँले घटाएको छ । बैंकको निक्षेप संकलन १ खर्ब २५ अर्ब रुपैयाँबाट बढेर १ खर्ब २९ अर्ब रुपैयाँमा पुगेको छ भने कर्जा लगानी १ खर्ब १ अर्ब रुपैयाँबाट १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।

चुक्तापूँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको बैंकको जगेडाकोषमा ५ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । कोभिडको असरसँगै बैंकको खराब कर्जा पनि बढ्न थालेको छ । गत वर्षको दोस्रो त्रैमासमा १.२८ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर २.१३ प्रतिशत पुगेको छ ।

८.एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको नाफामा सामान्य सुधार भए पनि प्रतिशेयर आम्दानी भने घटेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ करोड ४३ लाख रुपैयाँ अर्थात २.१९ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुदब्याज आम्दानी २९ करोड ९३ लाख रुपैयाँ बढेर ३ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १३ करोड ४९ लाख रुपैयाँ बढेर ३ अर्ब ३ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ४० करोड रुपैयाँ फि तथा कमिशन आम्दानी गरेको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९३ करोड ५६ लाख रुपैयाँमात्र यस्तो आम्दानी गरेको छ ।

पुस मसान्तसम्ममा ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ चुक्तापूँजी रहेको यस बैंकको जगेडाकोषमा ६ अर्ब ८९ करोड २८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्तापूँजी ९ अर्ब ७१ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ५ अर्ब ५४ करोड रुपैंयाँ रहको थियो । पछिल्लो ६ महिनामा बैंकको निक्षेप २ खर्ब १ अर्ब ६३ करोड रुपैयाँबाट बढेर २ खर्ब ६८ अर्ब १० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कर्जा लगानी १ खर्ब ६० अर्ब १८ करोड रुपैयाँबाट बढेर २ खर्ब २१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

९.प्राइम कमर्शियल बैंक
प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार करिब २ अर्ब रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ खुदनाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१ करोड २५ लाख रुपैयाँ अर्थात ३९.४० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३० करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुदब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुदनाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २६ करोड ४२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७५ करोड ४ लाख रुपैयाँ बढेर २ अर्ब ९१ करोड ५० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ७३ करोड ९३ लाख रुपैयाँ बढेर २ अर्ब ५९ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा १६ अर्ब ८ करोड ३० लाख रुपैयाँ चुक्तापूँजी रहेको यस बैंकको जगेडाकोषमा ४ अर्ब ९४ करोड ७६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्तापूँजी १३ अर्ब ९८ करोड रुपैयाँ हुँदा जगेडाकोषमा ४ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो । पछिल्लो ६ महिनामा बैंकको निक्षेप १ खर्ब १९ अर्ब ४४ करोड रुपैयाँबाट बढेर १ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब १० अर्ब ४३ करोड रुपैयाँबाट बढेर १ खर्ब १९ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

१०.कृषि विकास बैंक
कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको नाफा १६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ करोड रुपैयाँ अर्थात १६.४४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ खुदनाफा कमाएको थियो ।

बैंकको खुदब्याज आम्दानी घटेसँगै खुदनाफा घट्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८० करोड ९५ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुदब्याज आम्दानी २९ करोड १५ लाख रुपैयाँ घटेर २ अर्ब ८८ करोड रुपैयाँमा सीमीत भएको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा २४ करोड ५१ लाख रुपैयाँ घटेर १ अर्ब ८९ करोड ४७ लाख रुपैयाँमा समेटिएको छ ।

पुस मसान्तसम्ममा १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ चुक्तापूँजी रहेको यस बैंकको जगेडाकोषमा ९ अर्ब ९८ करोड १३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्तापूँजी १४ अर्ब ९८ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ११ अर्ब २० करोड ८२ लाख रुपैयाँ रहेको थियो ।पछिल्लो ६ महिनामा बैंकको निक्षेप १ खर्ब ४३ अर्ब ६२ करोड रुपैयाँबाट बढेर १ खर्ब ४४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कर्जा लगानी १ खर्ब २१ अर्ब ८४ करोड रुपैयाँबाट बढेर १ खर्ब ३२ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

११.सेन्चुरी कमर्शियल बैंक
सेन्चुरी कमर्शियल बैंकको चालु आर्थिक वर्षको दास्रो त्रैमासमा खुद नाफा घटेको छ । बैंकको गत आर्थिक वर्षको यहि अवधिमा खुद नाफा २८.२५ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४६ करोड ६५ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.२५ प्रतिशत अर्थात १८ करोड ३५ लाख ८८ हजार रुपैयाँले कमी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ६५ करोड २ लाख ८७ हजार रुपैयाँ खुदनाफा कमाएको थियो ।

यस्तै बैंकको सञ्चालन मुनाफा पनि ३०.३४ प्रतिशतले घटेर ६३ करोड ४४ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यहि अवधिमा बैंकको सञ्चालन मुनाफा ९१ करोड ७ लाख रुपैयाँ आर्जन गरेको थियो । खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा १५ रुपैयाँ ४५ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी यस अवधिमा घटेर १० रुपैयाँ ३३ पैसामा सीमित भएको छ । चुक्ता पूँजी ९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७० करोड ४७ लाख रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य मुनाफा २५ करोड ४ लाख रुपैयाँ रहेको छ ।

१२.नेपाल क्रेडिट एन्ड कमर्श बैंक
नेपाल क्रेडिट एन्ड कमर्श बैंकको नाफा १८.८२ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणमा बैंकको नाफा १४ करोड २३ लाखले घटेर ६१ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । बैंकले गत आवको सोही अवधिमा ७५ करोड ६३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले निक्षेप संकलन भने बढाएको छ । गतवर्षको समीक्षा अवधिमा निक्षेप संकलन ७२ अर्ब ८१ करोड ५९ लाख निक्षेप संकलन गरेको बैंकले चालु आवको सोही अवधिमा ९७ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

कर्जा प्रवाहतर्फ बैंकले गत आवको समीक्षा अवधिको तुलनामा चालु आवमा केही बढाएको छ । गत आवको समीक्षा अवधिमा ७ अर्ब ५० करोड २६ लाख कर्जा प्रवाह गरेकोमा चालु आवको सोही अवधिमा बैंकले ११ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरको छ । बैंकको चुक्तापूँजी ९ अर्ब ३५ करोड ३९ लाख १६ हजार ९४५ रुपैयाँ छ भने रिजर्भमा ३ अर्ब ६ करोड ९ लाख २९ हजार ८७२ रुपैयाँ छ ।

१३.सिद्धार्थ बैंक
सिद्वार्थ बैंकको पुस मसान्तसम्ममा ९१ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष पुस मसान्तमा बैंकको नाफा १ अर्ब २ करोड थियो । ९ अर्ब ७८ करोड चुक्तापूँजी रहेको सिद्धार्थ बैंकले पुस मसान्तसम्ममा १ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा दिएको छ । एकवर्ष अगाडि बैंकको निक्षेप १ खर्ब ३९ करोड थियो भने कर्जा १ खर्ब २३ अर्ब रहेको थियो । बैंकको पूँजीकोष अनुपात १३.८४ प्रतिशत रहेको छ भने खराब कर्जा अनुपात १.९१ प्रतिशत छ । अघिल्लो वर्ष १.५५ प्रतिशत खराब कर्जा अनुपात थियो ।

१४.बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूको नाफा घटेको छ । बैंकको दोस्रो त्रैमाससम्ममा गतवर्षको सोही अवधिको तुलनामा १७ करोड ५३ लाख रुपैयाँले कमी आएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको दोस्रो त्रैमासमा कुल नाफा ७० करोड ८५ लाख ११ हजार १५ रुपैयाँ छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा ८८ करोड ३८ लाख १६ हजार ७२७ रुपैयाँ थियो । बैंकले यस अवधिमा ९३ अर्ब ३५ करोड २८ लाख ८९ हजार ७०५ रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा ९२ अर्ब १० करोड ३२ लाख ९९ हजार ६७६ रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

बैंकको खराब कर्जामा केही सुधार देखिएको छ । गत वर्षको समीक्षा अवधिमा खराब कर्जा १.५४ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा १.५२ प्रतिशतमा सीमित भएको छ । साथै बैंकको कर्जा निक्षेप अनुपात भने बढेको छ । चालु आवको दोस्रो त्रैमासमा यो अनुपात ८०.११ प्रतिशत छ जबकी गतवर्षको सोही अवधिमा यो ७६.२३ प्रतिशत थियो । बैंकको पूँजीकोष अनुपात १२.८५ प्रतिशत छ । गतवर्षको सोही अवधिमा यो अनुपात १३.८० प्रतिशत थियो । बैंकको चालु आवको दोस्रो त्रैमाससम्ममा कुल वितरणयोग्य नाफा ३८ करोड ६२ लाख ८६ हजार १०३ रुपैयाँ छ ।

१५.लक्ष्मी बैंक
लक्ष्मी बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८० करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा गतवर्षको यही अवधिको तुलनामा १०.६२ प्रतिशतले कमी हो । गत वर्ष यही अवधिसम्म बैंकले ९० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५० करोड ४६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म बैंकले सञ्चालन मुनाफाबापत १ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको छ । यो पनि गत वर्षको तुलनामा १२.३५ प्रतिशतले कम हो । गतवर्ष सञ्चालन मुनाफा १ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । जुन गतवर्ष १ अर्ब ७४ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको रिजर्भको आकार १२.६३ प्रतिशतले बढेर ४ अर्ब ६८ करोड रुपैयाँको भएको छ । गत वर्ष यही अवधिमा रिजर्भमा ४ अर्ब १६ करोड रुपैयाँ थियो ।

१६.सिभिल बैंक
पुुस मसान्तसम्म सिभिल बैंकले ३१ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको भन्दा नाफामा गिरावट आएको छ । निक्षेप २१ प्रतिशत र कर्जा प्रवाह १४ प्रतिशतले बढाएको सिभिलले अघिल्लो वर्षको यही अवधिभन्दा साढे ५ करोड कमी नाफा गरेको हो ।

बैंकले पुस मसान्तसम्म ५२ अर्ब निक्षेप संकलन गरी ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ४३ अर्ब निक्षेप संकलन गरि ४४ अर्ब कर्जा प्रवाह गरेको थियो । यस्तै बैंकको कुल सञ्चालन आम्दानी र खुद सञ्चालन आम्दानी पनि क्रमशः ९ र २१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको यही अवधिसम्म १ अर्ब ३३ करोड रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी बढेर १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ भने १ अर्ब ५ करोड रहेको खुद सञ्चालन आम्दानी बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुदब्याज आम्दानी ९ प्रतिशतले बढेको छ । यो अवधिसम्ममा बैंकले १ अर्ब १९ करोड रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । जुन गतवर्षको यही अवधिसम्म बैंकको खुदब्याज आम्दानी १ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

१७. राष्ट्रिय वाणिज्य बैंक
नेपाल सरकार स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा खुद मुनाफा २ अर्ब २१ करोड रुपैंयाँ रहेको थियो । यस अवधिमा बैंकको कुल आम्दानी २ अर्ब ४४ करोड रहेको छ भने बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड रहेको छ । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ९१ करोड तथा कुल संचालन आम्दानी ४ अर्ब ६५ करोड र खुद संचालन आम्दानी ४ अर्ब ५० करोड रहेको छ ।

०७७ पौष मसान्तमा बैंकको निक्षेप २ खर्ब ४१ अर्ब र खुद कर्जा तथा सापटी १ खर्ब ६२ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा बैंकको निक्षेपमा २३.९१ प्रतिशत र कर्जामा १० प्रतिशतल बृद्धि भएको छ ।

 

Skip This
Skip This
Logo