भाइमसला किन खाने ? के छ भाइमसलाकाे महत्व (भिडियाेसहित)

भाइमसला किन खाने ? के छ भाइमसलाकाे महत्व (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालीहरुको महान पर्व तिहारकाे भाइटीका आज । तिहार झिलीमीली बत्ती र फूलैफूलको उज्यालो पर्वका रूपमा लिने गरिन्छ । उमंग एवं उत्साह बोकेर आउने दशैंपछिको सांस्कृतिक पर्व तिहारको आफ्नै महत्व रहेको छ । शरद ऋतुसँगै तिहार लाग्ने भएकाले यतिबेला खेतबारीदेखि घर–आँगनसम्म गोदावरी, सयपत्री तथा मखमली आदि फूलहरु फूलेर ढकमक्क हुने गरेका छन् ।

हिन्दू धर्मशास्त्र अनुसार तिहारमा काग, कुकुर, गाई, गोरुका साथै दाजुभाइको समेत पूजा गरिन्छ । यसरी गरिने पूजाका लागि धेरै सामग्रीहरू चाहिन्छ । त्यसैले पूजा तथा भाइटीका लगाउनको लागि आवश्यक सामग्रीको व्यापार पनि राम्रो हुने गरेको छ । तिहारमा परम्परादेखि नै धेरै किसिमका सामग्री प्रयोग गर्ने गरिन्छ, अझ पछिल्लो समय परम्परागत भन्दा पनि नयाँनयाँ किसिमका सामग्रीको प्रयोग गर्न थालिएका छन् । यी सामग्री तिहारमा मात्रै धेरै खपत हुने गरेका छन् ।

यो वर्ष कोरोना महामारीले करिब ८ महिना थलिएको व्यापार तिहारमा केही मात्राले बढ्ने आँकलन गरिए पनि आशा गरेको जस्तो व्यापार नभएको व्यापारीहरुले बताएका छन् । तर महामारीका बीचमा पनि यो तिहारमा भाइमसलाजन्य वस्तु देशभर करिव १ अर्ब रुपैयाँको कारोबार हुने खुद्रा व्यापार संघले जनाएको छ । व्यापार संघका अनुसार विगतका वर्षको तुलनामा यसवर्ष भाइमसलाको कारोबार ४० प्रतिशत कमी आउने भएको छ ।

तिहारका बेला भाइमसलामा प्रयोग हुने काजु, किसमिस, ओखर, बदाम, पेस्ता, नरिवल, छोकडा, सुकमेल लगायत विभिन्न मिठाइका परिकारको समेत व्यापार बढ्ने गरेको छ । यतिबेला काठमाडौं उपत्यकाका मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, न्युरोड, लगनखेल, कोटेश्वर, पाटन लगायतका क्षेत्रमा तिहारका सामग्री किन्नेको भिडभाड बढेको छ ।

भिडियाे

काठमाडौंको असनमा विगत चारपुस्तादेखि भाइमसलाको व्यापार गर्दै आएका एक व्यापारीले विगतको वर्षमा भन्दा भिडभाड देखिए पनि ६० प्रतिशतले व्यापार घटेको बताएका छन् । उनका अनुसार कोरोना महामारीको कारणले गर्दा नै होला विगतको वर्षको जस्तो भाइमसलाको व्यापारमा रौनकता रहेको छैन । भाइमसला किन्नेहरु पनि कमै मात्रामा आउने गरेको बताए ।

त्यस्तै, विगत ४० वर्षदेखि असन चोकमा भाइमसला बेच्दै आएका कविकुमार ढङ्गोलको भनाइ पनि उस्तै छ । दशैंको भन्दा भिडभाड बढे पनि व्यापार ५० प्रतिशतले घटेको तर चोकमा नै रहेकाले केही ग्राहकहरु पनि आइरहेको उनले बताए ।

व्यापारीहरुले व्यापार नै आधा भएको बताए पनि उनीहरु व्यापार गर्न भने व्यस्त रहेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले ६ महिनासम्म लगाएको लकडाउन र निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प रहेको थियो । यो समयमा पनि ड्राईफ्रुडको खपत निकै कम रहेको थियो । तिहार लागेसँगै ड्राईफ्रुडको व्यापार बढ्ने आशा गरेका व्यापारीहरु व्यापार नबढ्ने चिन्तामा छन् ।

भाइमसलाको व्यापारमा गतवर्षको जस्तो उत्साह नभएकाले यो वर्ष माग र मूल्य पनि गिरावट आएको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । उनका अनुसार गत वर्षको तुलनामा यो तिहारमा करिब ५० देखि एक सय रुपैयाँले भाइमसलाहरूको मूल्य घटेको छ । यसरी भाइमसलाको मूल्य घट्दा कोरोना महामारीले आर्थिक अवस्था कमजोर भएका ग्राहकलाई केही भए पनि राहत भएको उनको भनाइ छ ।

कोरोनाले गर्दा व्यवसाय बन्द रहेकाले पुराना सामान स्टक भएपछि सामान बेच्न सकिएको छैन । त्यसैले सबै व्यापारीले मूल्य घटाएर भएपनि सामान कटाउनतिर लागेकाले अहिले मूल्य केही घटेको श्रेष्ठले बताए ।

भाइमसलामा प्रयोग गरिने केही मसला मात्रै नेपालमा उत्पादन हुने भएकाले धेरै जसो मसला बाहिरी देशबाट नै आयात गर्नु पर्ने अवस्था छ । नेपालमा नै उत्पादन भएको ड्राइ फ्रुडले नेपाली बजार धान्न नसक्ने भएकाले मखन र ओखर चीनबाट र आलमण्ड (हाडे बदाम) भारत, भियतनाम, कतार, थाइल्यान्ड, अमेरिका र अस्ट्रेलिया लगायतका देशबाट आयात गर्ने गरिन्छ ।

Logo