स्थानीयको पहलमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

स्थानीयको पहलमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

केन्द्रबिन्दु
27
Shares

भोजपुर। स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको पानीट्याङ्की क्षेत्रमा ‘पेमा छ्योलिङ बौद्ध गुम्बा’ निर्माण गरिएको छ । बौद्ध धर्म–संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले करिब रु दुई करोड ३५ लाख लागतमा गुम्बा निर्माण गरिएको हो ।

देश तथा विदेशमा रहेका शेर्पा समुदायको उल्लेख्य योगदान र प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण गरिएको गुम्बा व्यवस्थापन समितिका कोषाध्यक्ष आङदावा शेर्पाले जानकारी दिए। उनका अनुसार कूल लागतको करिब ७८ प्रतिशत रकम शेर्पा समुदायबाट चन्दा सङ्कलन गरी जुटाइएको हो ।

“धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि स्थानीयको सक्रियतामा गुम्बा निर्माण गरिरहेका छौँ”, कोषाध्यक्ष शेर्पाले भने, “हालसम्म करिब रु दुई करोड ३५ लाख बराबरको निर्माण सम्पन्न भइसकेको छ ।”

हालसम्म प्रदेश सरकारबाट रु ३१ लाख, भोजपुर नगरपालिकाबाट रु १७ लाख, वडा कार्यालयबाट रु छ लाख तथा स्थानीय समुदायबाट रु एक करोड ८१ लाख चन्दा सङ्कलन गरिएको समितिले जनाएको छ । गुम्बा परिसरमा एक जना व्यक्तिले व्यक्तिगत रूपमा रु २७ लाख खर्च गरी छोर्तेन निर्माण गरिदिए । हाल अमेरिका रहनुभएका फराडेन्डी शेर्पाले आफ्नै लगानीमा छोर्तेन निर्माण गरिदिएका हुन् ।

गुम्बा निर्माणका लागि वडा नं ७ र ९ का करिब ११४ शेर्पा परिवारले न्यूनतम रु २० हजारका दरले सहयोग गरेका गुम्बा व्यवस्थापन समितिले जनाएको छ । गुम्बा निर्माण कार्य विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी योजनाबद्ध रूपमा अघि बढाइएको छ ।

गुम्बाको बाँकी तथा थप संरचना निर्माणका लागि आवमा वडा कार्यालयबाट रु दुई लाख र नगरपालिकाबाट रु पाँच लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष रामबहादुर तामाङले बताए । उनका अनुसार विगतका वर्षदेखि नै वडाको उपलब्ध स्रोत–साधनअनुसार गुम्बाको संरक्षण र विकासमा निरन्तर सहयोग हुँदै आएको छ ।

“वडा नं ९ मा गुम्बा, मन्दिरलगायत धार्मिक संरचना धेरै रहेकाले यहाँ धार्मिक पर्यटनको राम्रो सम्भावना छ”, वडाध्यक्ष तामाङले भने, “बौद्ध धर्म–संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन विकास गर्न गुम्बा निर्माण गरिएको हो ।” भोजपुर बजार क्षेत्रमै पर्ने पानीट्याङ्की क्षेत्रमा चार रोपनी आठ आना क्षेत्रफलमा गुम्बा निर्माण गरिएको छ । बजार नजिकै भएकाले यस क्षेत्रका धार्मिकस्थलको संरक्षण तथा प्रवद्र्धनमा वडाले विशेष जोड दिएको जनाइएको छ ।

Logo