घोराही। अध्ययनको विषयलाई नै व्यवसायसँग जोड्दा सफलता मिल्ने उदाहरण बनेका छन् कैलालीका युवा किसान दशरथ साउद । कृषि प्राविधिक अध्ययन गरेका साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा सुरु गरेको व्यावसायिक स्ट्रबेरीखेतीबाट एक वर्षमै करिब २१ लाख रुपैयाँ आम्दानी गरेका छन्।
चार वर्षअघि स्ट्रबेरीखेतीमा होमिएका २७ वर्षीय साउदले दुई बिघा जग्गा भाडामा लिएर खेती गर्दै आएका छन्। गत वर्ष बिक्रीबाट आधाभन्दा बढी रकम बचत भएको र यो वर्ष दैनिक ७० किलोभन्दा बढी स्ट्रबेरी बिक्री भइरहेको उनले बताए। यस वर्ष खेती क्षेत्रफल बढाएकाले आम्दानी अझै बढ्ने अपेक्षा गरिएको छ। हाल स्ट्रबेरी प्रतिकिलो ७ सय रुपैयाँमा बिक्री भइरहेको छ।
साउद घोराहीसँगै कपिलवस्तु र कैलालीमा पनि व्यावसायिक रूपमा स्ट्रबेरीखेती गर्दै आएका छन्। “कृषि प्रविधि अध्ययन गरेपछि यही क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचले फार्म सुरु गरेँ,” उनले भने, “अहिले यही पेशाले राम्रो भविष्य देखाएको छ।”
यसैगरी घोराहीकै अर्का युवा किसान वीरेन्द्र खड्काले पनि व्यावसायिक स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी गरिरहेका छन्। रोल्पा माडी गाउँपालिका–१ स्थायी घर भएका खड्काले घोराही–१४ झिँगौरामा भाडामा लिएको जग्गामा स्ट्रबेरीखेती गर्दै आएका छन्। पुष्प व्यवसायबाट सुरु गरेका खड्काले पछिल्ला दुई–तीन वर्षदेखि स्ट्रबेरीखेतीलाई विस्तार गरेका हुन्।
कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले स्ट्रबेरी उत्पादनपछि तत्काल बिक्री गर्न सके लाभदायक हुने बताउँदै प्याकिङ र ढुवानीमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्। दाङको हावा, पानी र माटो स्ट्रबेरीखेतीका लागि अनुकूल रहेको उनको भनाइ छ।
युवा पुस्ता कृषि प्रविधिसँग जोडिएर व्यवसायिक खेतीतर्फ आकर्षित हुँदै जानु जिल्लाका लागि सकारात्मक संकेतका रूपमा लिइएको छ।































प्रतिक्रिया