काठमाडौं । सरकारी विज्ञापन कारोबारका विषयमा सञ्चार माध्यमहरूमा प्रकाशित समाचार तथा विज्ञप्तीप्रति नेपाल विज्ञापन संघ (आन)ले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद व्यक्त गरेको छ ।
संघले केही समयअघि कान्तिपुर दैनिकमा प्रकाशित ‘सरकारी विज्ञापनमा ३ अर्ब गायब’ शीर्षकको समाचार तथा सोही विषयलाई लिएर नेपाल रिपब्लिक मिडिया लिमिटेडद्वारा जारी विज्ञप्तीप्रति आपत्ति जनाएको हो।
संघका अनुसार, विज्ञापन बजारको पारदर्शिता र मर्यादासँग सम्बन्धित यस्ता समाचारहरूले आम जनमानस र सरोकारवाला निकायहरूमा अनावश्यक भ्रम सिर्जना गरेको छ। संघले ‘३ अर्ब गायब’ भन्ने विषयमा कुनै ठोस तथ्याङ्क तथा कानुनी आधार नरहेको भन्दै सार्वजनिक खरिद प्रक्रियाबाट हुने सरकारी विज्ञापन वितरण तथा भुक्तानी प्रणालीलाई गलत ढङ्गले व्याख्या गरिएको दाबी गरेको छ।
संघले सञ्चार गृहहरू विज्ञापन बजारका अभिन्न हिस्सा भएको उल्लेख गर्दै, तथ्य पुष्टि नगरी अन्य सञ्चार गृह वा विज्ञापन एजेन्सीलाई लक्षित गरी समाचार सम्प्रेषण गर्नु व्यावसायिक मर्यादा र पत्रकारिताको मूल्य मान्यता विपरीत भएको जनाएको छ।
यस्ता भ्रामक समाचारले विज्ञापनदाता, एजेन्सी र सञ्चार माध्यमबीचको विश्वास कमजोर बनाउने तथा समग्र विज्ञापन व्यवसायमै नकारात्मक असर पर्ने जोखिम रहेको संघको ठहर छ।
नेपाल विज्ञापन संघले विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन आफू सदैव प्रतिबद्ध रहेको बताउँदै, मान्यता प्राप्त तथा संगठनात्मक आबद्धता भएका विज्ञापन एजेन्सीहरूसँग मात्र कारोबार गर्न सञ्चार गृहहरूलाई आग्रह गर्दै आएको उल्लेख गरेको छ।
अपुष्ट समाचारहरूले २५ अर्ब रुपैयाँभन्दा बढीको समग्र विज्ञापन व्यवसायलाई अनावश्यक रूपमा दोषारोपण गरेको संघको भनाइ छ।
संघले विज्ञापन दररेटका विषयमा वैज्ञानिक आधारको अभावका कारण सञ्चार माध्यमबीच अस्वस्थ प्रतिस्पर्धा बढेको उल्लेख गर्दै, न्यूनतम विज्ञापन दर कायम गर्न गत वर्ष नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्स नेपालसहित चार व्यावसायिक संस्थाबीच सहमति भएको स्मरण गराएको छ।
कुनै पनि निकायमा अनियमितता भए त्यसको छानबिन गर्ने संवैधानिक तथा कानुनी प्रक्रिया रहेको भन्दै, सञ्चार माध्यमबाट एकपक्षीय र भ्रामक सूचना प्रवाह हुनु खेदजनक भएको संघले जनाएको छ।
अन्त्यमा, संघले यस्ता भ्रामक समाचारको पछि नलाग्न विज्ञापनदाता, एजेन्सी सञ्चालक तथा सरोकारवालाहरूलाई अपिल गरेको छ भने सम्बन्धित सञ्चार गृहहरूलाई सत्य–तथ्य पुष्टि गरेर मात्र सूचना तथा समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।





























प्रतिक्रिया