चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक

चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ। चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रहरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले गएको माघ १० गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण आज सार्वजनिक गरेको हो।

गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ घरेलु बक्सअफिसमा उत्साहजनक कमाई गर्न सकेको छैन। हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बनेको यस चलचित्रले माघ ३ गतेसम्म एक करोड २३ लाख ८८ हजार रुपैयाँ कमाई गरेको छ। चलचित्रका लागि कुल तीन हजार २१७ टिकट बिक्री भएका छन्।

भ्रष्टाचार र बेथितिविरुद्धको आवाज उठाउने प्रयास गरिएको यस चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायत कलाकारको अभिनय रहेको छ।

त्यसैगरी, गत पुस १० गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘मुगलान’ ले ६ लाख ३१ हजार रुपैयाँ कमाई गरेको छ। प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डिसी, मोती सुवेदी, रामचन्द्र अधिकारीलगायत कलाकारको अभिनय रहेको यस चलचित्रका दुई हजार ४०० टिकट बिक्री भएका छन्। आशिष ढकालको निर्देशनमा बनेको चलचित्रले न्यून व्यापार गरेको देखिएको छ।

गत पुस १७ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘एक्लो’ ले पनि अपेक्षित व्यापार गर्न सकेको छैन। प्रदीप शाहीको निर्देशनमा बनेको यस चलचित्रले ४६ लाख ९५ हजार रुपैयाँ कमाई गरेको छ। प्रदीप खड्का, दिनेश डिसी, विजय लामा, बेनिशा हमाल, कविता नेपालीलगायत कलाकारको अभिनय रहेको चलचित्रका १४ हजार २५५ टिकट बिक्री भएका छन्। दर्शकबाट सकारात्मक समीक्षा नपाउँदा यसको व्यापार प्रभावित भएको बोर्डले जनाएको छ।

नेपाली वैकल्पिक राजनीतिका अभियन्ता स्वर्गीय उज्ज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ ले सोही अवधिसम्म तीन लाख १२ हजार रुपैयाँ कमाई गरेको छ। पुस २५ गतेदेखि सीमित चलचित्र भवनमा प्रदर्शन भएको यस वृत्तचित्रलाई उज्ज्वल थापा फाउन्डेसनले निर्माण गरेको हो।

सुदीप भाजुको निर्देशनमा बनेको यस वृत्तचित्रमा उज्ज्वल थापाको बाल्यकाल, वैदेशिक शिक्षा, स्वदेश फर्किएपछिको नागरिक अभियान र वैकल्पिक राजनीतिमा पु¥याएको योगदान समेटिएको छ। सर्वसाधारणबाट पाँच लाख रुपैयाँसम्म आर्थिक सहयोग जुटाएर निर्माण गरिएको यस वृत्तचित्रले अपेक्षाकृत व्यापार गर्न सकेन।

माघेसङ्क्रान्तिलाई लक्षित गर्दै माघ १ गतेदेखि प्रदर्शन भएका तीन चलचित्रले पनि उत्साहजनक व्यापार गर्न नसकेको बोर्डको तथ्याङ्कमा उल्लेख छ। मरिचमान श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘गोबर गणेश’ ले एक करोड १४ लाख ३५ हजार रुपैयाँ कमाई गरेको छ। यस चलचित्रका ४० हजार २३४ टिकट बिक्री भएका छन्। चलचित्रमा वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहेको छ।

त्यस्तै, माघ १ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘मिरमिरे’ ले ३३ लाख ७२ हजार रुपैयाँ कमाई गरेको छ। बुबाछोरीको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रमा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, छुल्ठिम गुरुङ, माओत्से गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचनलगायत कलाकारको अभिनय रहेको छ। यम शेर्पाको निर्देशनमा बनेको चलचित्रका १० हजार ८१३ टिकट बिक्री भएका छन्।

अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘भाइरल गोर्खे’ ले सोही अवधिमा ३४ लाख ५३ हजार रुपैयाँ कमाई गरेको छ। सामाजिक सञ्जालको बढ्दो प्रभाव र ‘भाइरल’ संस्कृतिलाई केन्द्रमा राखेर बनेको यस चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन्। चलचित्रमा सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र पत्रकार ऋषि धमलाको पनि अभिनय रहेको छ। यस चलचित्रका १० हजार ६०५ टिकट बिक्री भएका छन्।

चलचित्र विकास बोर्डले पछिल्लो समय नेपालमा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रहरूको व्यावसायिक विवरण नियमित रूपमा सार्वजनिक गर्दै आएको छ।

Skip This
Skip This
Logo