काठमाडौं ।
यतिबेला नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा तथा निर्वाचनले माहोल तातेको छ । यतिबेला महासंघका विभिन्न पदमा उमेद्वारी दिएका उमेद्वारहरु आफ्नो पक्षमा मत पार्न प्रचारप्रसारमा व्यस्त छन् ।
महासंघको निर्वाचनको कुरा गर्दा वरिष्ठ उपाध्यक्षको निर्वाचन साँच्चै नै हेर्न लायक नै हुन्छ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । अध्यक्षका लागि निर्वाचन हुँदैन । त्यसैले पनि यस पदका लागि हुने निर्वाचन निकै रोमाञ्चकारी हुने गर्छ । यसपालीको निर्वाचनमा महासंघका उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले वरिष्ठ उपाध्यक्षका लागि उमेद्वारी घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।
वरिष्ठ उपाध्यक्षका एक उमेद्वार व्यवसायी चन्द्र ढकालसँग केन्द्रबिन्दुले छोटो कुराकानी गरेको छ । व्यवसायी ढकालको व्यवसायिक संजाल ७७ वटै जिल्लामा फैलिएको छ । उनको जिल्ला/नगरमा पनि राम्रो पटक छ । यसअघिका निर्वाचनमा पनि ढकाल निर्विरोध चयन भएका थिए । यस पटकको निर्वाचनमा ढकालले बाजी मार्ने पक्का भएको बताइन्छ । अहिले सहमति जुटाउन लागेका पूर्वअध्यक्षहरुले पनि आफूलाई नै समर्थन गर्ने दाबी ढकालले गरेका छन् । को कति बलिया छन्,त्यो त निर्वाचनको परिणामले नै देखाउला । प्रस्तुत छ, व्यवसायी ढकालसँग महासंघको निर्वाचनमा केन्द्रित रहेर केन्द्रबिन्दुका लागि कमला अर्यालले गरेको छोटो कुराकानीको सम्पादित अंशः
चुनावी प्रचारप्रसार सकियो ?
प्रचारप्रसार खासै भएको छैन । चुनाव आउन बाँकी छ । त्यस्तो व्यापकरुपमा भएको छैन भन्दा हुन्छ । पश्चिमतिरका केही स्थानमा हामी पुगेका छौँ । धनगढी, नेपालगञ्ज, बुटवल, नारायणगढ, पोखराहुँदै काठमाडौँ फकिएका छौँ । अब १ र २ नम्बर प्रदेश जाँदैछौँ । मुलुकभरी त प्रचारप्रसार गर्न भ्याएको छैन ।
तपाईंलाई सबैभन्दा बढी सहयोग र सपोर्ट कुन कुन ठाउँबाट आएको छ ?
अहिलेसम्म मेरो पक्षमा राम्रो सहयोग र सपोर्ट जुटेको छ । अहिलेसम्म १ र २ प्रदेशबाहेक सबै प्रदेशमा गइयो । ४ नम्बर प्रदेशमा सबैजनाको सर्वसम्मत नै भयो । त्यसैगरी धनगढीमा पनि त्यस्तै भयो । ७ नम्बर प्रदेश तथा नेपालगञ्जमा पनि त्यस्तै खालको सहयोग र समर्थन भयो ।
त्यसैगरी नारायणगढ, बुटवलमा पनि त्यस्तै सहयोग जुट्यो । ३ नम्बर प्रदेशमा पनि लगभग त्यस्तै भयो । समग्रमा भन्दा सबै प्रदेशको सहयोग र समर्थन धेरै राम्रो छ । हामीले यति धेरै राम्रो होला भन्ने सोचेका पनि थिएनौँ । सोचेभन्दा राम्रो भएको छ । उहाँहरुले मलाई साथ दिनु भएको छ । मैले पनि उहाँहरुलाई निराश नबनाउने गरी काम गर्नेछु ।
भनेपछि यसपाली वरिष्ठ उपाध्यक्षको बाजी तपाईंले मार्ने पक्का छ ?
यसो सरसर्ती हेर्दा लगभग जित भइसक्यो जस्तो लाग्छ । मलाई आशा गरेभन्दा र सोचेभन्दा बढी सबै प्रदेशबाट सहयोग र सर्मथन आएको छ । हामी जति ठाउँमा गएका छौँ, त्यहाँ कहिँ पनि नराम्रो छैन । १ र २ प्रदेश बाँकी नै छ । मलाई विश्वास छ १ र २ प्रदेशबाट पनि राम्रो सहयोग आउँछ भन्ने । त्यसैले पनि मेरो जित निश्चित छ ।
पूर्वअध्यक्षहरु अधिकांशले किशोर प्रधानलाई सपोर्ट गरेका छन् । तपाईंले पूर्वअध्यक्षहरुलाई रिजाउन सक्नु भएन नि ?
कुरा त्यसो होइन । प्राविधिक कारणले उहाँहरुले प्रधानजीलाई सपोर्ट गर्नु भएको हो ।
पूर्वअध्यक्षहरुले सहमतिका लागि छलफल गरिरहनु भएको छ । सहमति हुने सम्भावना कत्तिको छ ?
अन्तिम समयसम्म सहमतिको सम्भावना त रहन्छ नै । सहमति गर्दा हेर्नु पर्ने के हुन्छ भने जनआधार, मतदाताले कसरी सपोर्ट गरेको छ ? भन्ने कुराहरु हेरेर गर्नुपर्छ । यीनै कुराहरुको आधारमा सहमति गराउनु पर्ने हुन्छ । चुनाव हुँदा जसले अत्याधिक मतले जित्छ, उसले सम्झौता गर्ने कुरा हुँदैन । सहमति गर्दा जो कमजोर छ, उसले सहमति गर्नुपर्ने हुन्छ । मेरो कुरा गर्दा महासंघ तीन टर्म भयो । दुईवटा टर्ममा निर्विरोध भएको छु । मेरो पहिलेको इतिहास अब फेरि दोहोरिन्छ भन्ने देखाउँछ ।
सहमतिबाटै तपाईंलाई यसपाली प्रधानलाई छोडिदिनुस् भन्ने कुरा आयो भने तपाईंले छोड्ने कि नछोड्ने ?
त्यो पटक्कै हुँदैन । जसका मतदाता बलिया छन्, उसैले छोड्ने अवस्था कसरी आँउछ ? त्यसैले त्यस्तो अवस्था भयो भने प्रजातान्त्रिक हिसावले निर्वाचन हुन्छ । प्रजातान्त्रिक हिसावले हुँदा सबैलाई राम्रै हुन्छ ।
तपाईं नेतृत्वमा आएपछि सधैँ ओझेलमा पर्ने गरेका साना व्यवसायीहरुका लागि के के गर्नुहुन्छ ?
मेरो व्यवसायिक संजाल ७७ वटै जिल्लामा फैलिएको छ । महासंघमा म रहँदा र नरहँदा पनि म उहाँहरु (जिल्ला÷नगर साना व्यवासयी) सँग सँगै रहन्छु । म उहाँहरुका समस्याहरु र विषयवस्तुहरु उठाइरहेको हुन्छु । चुनावका लागि मात्रै मैले उहाँहरुलाई सम्झेको होइन । चुनाव अघि पनि म निरन्तर उहाँहरुसँगको सम्पर्कमा छु र उहाँहरुका समस्याका बारेमा भरपूर जानकार छु । कामको शीलशीलामा होस् या उहाँहरुसँग भेटघाटको कार्यक्रम होस् हरेक जिल्लामा म उहाँहरुसँग निरन्तर सम्पर्कमा रहेको छु ।
पहिलेदेखि नै निरन्तर सम्पर्कमा रहिरहेकाले पनि मलाई सहयोग गरिरहनु भएको छ । जसरी उहाँहरुले मलाई सहयोग गर्नु भएको छ ,त्यसरी नै मैले पनि उहाँहरुका समस्यालाई बाहिर ल्याउने र समाधान गर्ने प्रयास गर्नेछु । यदि मैले चुनावका लागि मात्रै उहाँहरुलाई सम्झेको हुन्थेँ भने त अहिले मलाई यस्तो सहयोग र सपोर्ट नै आउने थिएन नि । त्यसैले उहाँहरुले मलाई सेवा गर्ने अवसर प्रधान गर्नु भएको छ । उहाँहरुप्रति म निकै आभारी छु ।
कोरोनाका कारण मुलुकको अर्थतन्त्र अस्तव्यस्त छ । महासंघमा आएपछि अर्थतन्त्रलाई माथि उठाउन तपाईंले के के गर्नुहुन्छ ?
नेपालको अर्थतन्त्रमा कोरोना संक्रमणका कारण जुन खालको असर परेको छ । धेरै उद्योग प्रतिष्ठानहरु बन्द भएको अवस्था छ । रोजगारी गुमेको अवस्था छ । त्यसलाई न्युनिकरण गर्दै नयाँ योजनाका साथ अगाडि बढ्ने हाम्रो योजना रहन्छ । यस्तो कठिन परिस्थितिलाई चिर्दै अगाडि बढ्न महासंघको तर्फबाट सरकारसँग पोलिसी लेभलको छलफल गर्छाैँ । संकटग्रस्त अर्थतन्त्रलाई कसरी रिभाइभ गर्ने भन्ने कुरामा हामी केन्द्रीत रहन्छौँ ।































प्रतिक्रिया