‘धनतेरस पर्व’ : कसरी मनाइन्छ, के-के किन्ने ?

‘धनतेरस पर्व’ : कसरी मनाइन्छ, के-के किन्ने ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हिन्दुहरुको दोस्रो महान चाड तिहार नजिकिँदैछ । हिन्दु धर्म अनुसार कार्तिक महिना सबैभन्दा शुभ र फलदायक महिना मानिन्छ । यो महिना भगवान विष्णुको महिना हो । यस महिनामा भगवान विष्णु निद्रा अवस्थाबाट जाग्ने परम्परागत मान्यता छ ।

भगवान विष्णु निद्राबाट उठेपछि सबै मांगलिक कार्य शुरू गर्ने मान्यता रहँदै आएको छ । तिहारको सुरुवात नै धनतेरसबाट सुरु हुन्छ । काग तिहारको दिन धनतेरस पर्व मनाइन्छ । तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने गरिन्छ । सुरुको दिन काग तिहारकै दिन धनतेरस पर्व मनाउँदै तिहारको सुरुवात गरिन्छ । यस दिन विभिन्न पूजा सामाग्री, फलफूल, चाँदी, तामा, पित्तल तथा माटो लगायतका सामाग्री राखी धुमधामसँग माता लक्ष्मी र कुबेरको पूजा गरिन्छ ।

औंशीका दिन माता लक्ष्मीको पूजा गर्दै माता लक्ष्मीलाई आआफ्नो घरमा बास गर भन्दै आव्हान गरिन्छ । मानिसहरूले आफ्नो घरका सदस्यहरूको आयु, आरोग्य र सुखसमृद्धिका लागि धन त्रयोदशीका दिन आफ्ना घर बाहिर यमराजलाई बाटो छेक्न दियो बाल्ने चलन छ । आर्य संस्कृति अनुसार स्वास्थ्यलाई धन सम्पत्तिभन्दा महत्वपूर्ण वस्तुका रूपमा मानिन्छ । त्यसैले धनधान्य र सम्मृद्धिकी देवी माता लक्ष्मीको पूजा तथा उपासनासँगै यमराजको पनि उपासना र पूजा गरिन्छ । तिहार जस्मा ५ दिन मनाइन्छ ।

धनतेरसमा अधिकांश सुनचाँदी, तामा लगायतका पूजा सम्बन्धी सामाग्री खरिद गर्ने भएकाले यस अवधिमा चाँदीको कारोबार उल्लेख्य रुपमा हुने गर्दछ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हरेक वर्षको तिहारमा ३ हजार केजीको हाराहारीमा चाँदीको कारोबार हुने गर्छ । यसपाली कोरोना संक्रमणका कारण ५० प्रतिशतले कारोबारमा गिरावट आउने महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए । यसपालीको तिहारमा १ हजार ५ सय केजीको हाराहारीमा चाँदीका सामाग्री विक्री हुने महासंघको आँकलन छ । कोरोना संक्रमणका कारण सुन व्यवसायमा जस्तो निराशाजनक कारोबार चाँदीमा नभएको पूर्व अध्यक्ष शाक्यले बताए । चाँदीका सामाग्रीहरु प्रायः तयारी अवस्थामै रहेकाले अभाव नहुने उनको भनाइ थियो ।

धनतेरसमा के के किन्ने ?

धनतेरसका दिनमा मानिसहरुले चाँदीका सिक्का, पाला, गणेश लक्ष्मीको मूर्ति, भाडाकुँडा, चाँदी, तामा, फलाम तथा माटोका भाँडाकुँडा, घण्ट, धनयन्त्र, श्रीयन्त्र लगायत खरिद गर्ने गर्छन् । यस्ता सामान खरिद गर्नाले माता लक्ष्मी प्रशन्न हुने र सदा धन वर्षा गरिदिने तथा सम्पूर्ण परिवारको सुख शान्ति र स्वास्थ्य हुने धार्मिक मान्यता छ । यसो गर्दा माता लक्ष्मी तथा कुबेर प्रशन्न हुने र धनवर्षा हुने जनविश्वास रहँदै आएको छ । हिजोआज मोटरवाहन, मोबाइल, कम्प्युटर जस्ता विलासिताका वस्तुहरू खरीद गर्न पनि यसै दिनलाई पर्खने गरिन्छ ।

रितिरिवाज र परम्परासँग जोडिन पुगेको यो ‘धनतेरस’ पर्व आर्थिक लगानीको सुरक्षणसँग पनि सम्बन्धीत छ । यसले आर्थिक हैसियत र क्षमतालाई पनि प्रदर्शन गरिरहेको छ । यस पर्वलाई उच्च, मध्यम र निम्न वर्गले आ–आफ्नो हैसियतका आधारमा मनाउने गर्छन् । उच्च वर्गले यी दिन विभिन्न विलासीका वस्तुहरु पनि किन्ने गर्छन् भने मध्यम र निम्न वर्गले पर्वलाई टार्ने गरी आवश्यकता अनुसार मात्रै सामानहरु खरिद गर्ने गर्छन् ।

यमपञ्चकको पहिलो दिन कागतिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग सूचनाको संवाहक हो । त्यसैले यस दिन वर्षभरि कागले घरआँगनमा सुखद र राम्रा समाचार र सौभाग्यका कुराहरुको मात्र सूचना देओस भनेर पूजा गरिन्छ । साथै घर बाहिर हरियो पात, दुना, टपरीमा विभिन्न खानाका परिकारहरू बनाएर कागलाई राखिन्छ ।

तिहारको पहिलो दिन कागको पूजा पश्चात कुकुरको पूजा गर्ने गरिन्छ । त्यस्तै, तिहारको दोस्रो दिन मानव सभ्यताको प्रारम्भदेखि मानवजातिको प्रिय साथीको रूपमा रहँदै आएको कुकुरको पूजा गरिन्छ । यस दिन थरिथरिका फूल, माला तथा विभिन्न खाने कुरासहित पूजा गरिने परम्परा छ ।

त्यस्तै, औंशीको साँझ हरेक घर, कार्यालयको आँगनमा विभिन्न रङ्गीविरङ्गी आकारका रंगगोली बनाउन बनाइन्छ । रंगगोलीका विभिन्न आकार हुन सक्छन् । यस दिन माता लक्ष्मीको आह्वान गरिन्छ । त्यस दिन राति माता लक्ष्मी पृथ्वीलोकमा आउने तथा आर्शिवाद विश्वास गरिन्छ । रंगगोली बनाउँदा माता लक्ष्मीका पाइला आँगनबाट घरको पूजा कोठासम्म बनाएर घरको मूख्य द्वार खुला राखिन्छ । यिनै पाइलाबाट माता लक्ष्मी घरमा प्रवेश गर्ने जनविश्वास रहँदै आएको छ ।

तिहारको चौंथो दिन गोबर्धन पूजा गरिन्छ । गाईलाई विभिन्न खाने कुराका परिकार बनाएर माला, पुष्पसहित पूजाआजा गरिन्छ । साथै गोठमा गोवर्धन बनाइन्छ । त्यसदिन विशेषण गरी भगवान कृष्ण र गाईलाई पूजा गरिन्छ ।

भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छी औंलाले गोबर्धन पर्वतलाई उठाएर त्यसमुनी द्वारिकावासीलाई ओत लगाएर बचाएको कुरा श्रीमद्भागवत गीतामा उल्लेख छ । त्यसैले यस दिन भगवान कृष्णलाई सम्झना गरिन्छ ।

यमपञ्चकको अन्तिम दिन भाइटीका हो । इन्द्रेणीको सातै रङ्गको प्रतिक टीका, कहिल्यै नओइलाउने सुपारी (मलमली) फूलका मालाहरु, विभिन्न प्रकारका भाइ मसला, रोटी, मिठाई लगायत भोगटे तथा बिमिरो लगायतका फलहरु राखेर दाजुभाइलाई पूजा गरि टीका लगाइन्छ ।

आयातित संस्कृती

१० वर्ष अघि नेपालमा धनतेरस पर्व मनाइदैँनथ्यो । यो पर्व खास गरी माडवारी समूदायले मनाउने पर्वको रुपमा चिनिन्छ । यो भारतीयहरुले मनाउने पर्व हो । नेपालमा भारतिय नागरिक पनि बसोबास गर्छन् । त्यसैमाथि कयौँ वर्षदेखि माडवारी समूदायहरु नेपालका काठमाडौँ, पोखरा, विराटनगर, नारायणगढ लगायतका विभिन्न शहरहरुमा व्यवसाय गर्न बसोबास गरिरहेका छन् । उनीहरुबाट आएको यो संस्कृति अहिले नेपालभरी फैलिँदैछ । उनीहरुले मनाउने गरेको यो पर्व अहिले अधिकांश नेपालीहरु (मुख्य गरेर शहरमा बस्ने नेपालीहरु) ले मनाउने गर्छन् । भारतीय र नेपालीहरुको धर्म र संस्कृति मिल्ने भएकाले पनि आजभोलि नेपालीहरुले पनि धनतेरस पर्व मनाउने गरेका हुन् । महासंघका पूर्वअध्यक्ष शाक्यका अनुसार माडवारीबाटै यो पर्व नेपाल भित्रिएको हो ।

यस्तो छ धनतेरस सम्बन्धी कथा

पौराणिक कथा अनुसार धनतेरसलाई धन्वन्तरिको नामले पनि चिनिन्छ । यो कथा देवता र असुरहरुद्वारा गरिएको समुद्र मन्थनसँग सम्बन्धीत छ । सो समुन्द्रमन्थनका क्रममा धन्वन्तरिको उत्पत्ति भएको मानिन्छ । उनी समुन्द्रबाट आफ्नो हातमा अमृत भरिएको कलश लिएर प्रकट भएका थिए । त्यसैले उनको अर्को नाम ‘पीयूषपाणि धन्वन्तरि’ पनि हो । उनलाई भगवान् विष्णुको अवतार मानिन्छ । त्यसबाहेक परम्परा अनुसार धनतेरसका दिन सन्ध्याकालमा यमराजलाई घरको मुलढोकामा दियो बालिन्छ । यमराजलाई कसैको घरभित्र नपस्न र कसैलाई दुःखकष्ट नदिन अनुरोध गर्दै पूजा गर्ने चलन छ ।

धनतेरसको साइत

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । अपराह्न १ः४९ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्व सम्बन्धी निर्णय गरिएको समितिका अध्यक्ष रामप्रसाद गौतमले बताए । गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० गते आइतबार गर्नुपर्ने शास्त्रीय वचन छ । आइतबार बिहान ११ः२७ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ । मंसिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए ।

मङ्सिर १ गते सोमबार मध्यान्हकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुन्छ ।

मङ्सिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवतको नयाँ वर्ष मनाउनु पर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनु पर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको उनले बताए । यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ ।

Logo