पर्वत। पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले अन्यत्र निख्रिएपछि सुन्तला टिपेर उच्च मूल्य पाएका छन्। अन्यत्रका किसानले सरदर प्रतिकिलो रु ७०–८० मा बिक्री सकेपछि बाँसखर्कका किसानले माघ लागेपछि टिप्न थालेका छन्। हाल प्रतिकिलो रु १६० मा बिक्री भइरहेको छ र दैनिक भाउ उकालो चढिरहेको छ।
पोखरा, काठमाडौँ र चितवनका व्यापारी बाँसखर्कमा सुन्तला किन्न आएका छन्। समुद्री सतहदेखि ११००–१९०० मिटर उचाइमा रहेको बाँसखर्कमा २३९ मध्ये २०० घरपरिवारले सुन्तलाखेती गरेका छन्। एउटा परिवारले वार्षिक कम्तीमा रु पाँच लाख आम्दानी गर्छ।
बाँसखर्कमा ५३ वर्षअघि रोपिएका बिरुवा अहिले पनि फल दिइरहेका छन्। किसानले वार्षिक रु १०–१३ लाख आम्दानी प्राप्त गरिरहेका छन्। बाँसखर्कको एक हजार ५०० रोपनीमा ५१ हजार १५१ सुन्तलाका बोट छन्। यस वर्ष करिब रु २० करोडको उत्पादन हुने अनुमान छ।
सर्वेक्षण अनुसार, यस वर्ष २६ हजार ७०६ बोटमा करिब रु २० करोडको उत्पादन भएको छ। क्षेत्रफल विस्तार, नयाँ बिरुवा, बगैँचा व्यवस्थापन, अनुकूल मौसम र दाना झर्ने समस्या कम भएपछि उत्पादन बढेको हो। थप २४ हजार ४४५ बोट बगैँचामा हुर्किरहेका छन्।
सुन्तलाखेतीबाट एउटा परिवारले वार्षिक रु चार लाखदेखि ४० लाखसम्म आम्दानी गर्छ। बाँसखर्कका किसानले परम्परागत धान, कोदो, मकै, गहुँखेतीको विकल्पमा सुन्तलाखेतीमा ध्यान दिएका छन्।
सुन्तला बगैँचा अवलोकन गर्न पर्यटक पनि आउँछन्। बाँसखर्क म्याग्दी र पर्वत समेटिएको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको प्रवेशविन्दु हो।





























प्रतिक्रिया