ढोरपाटन। यस वर्ष बागलुङमा रु २६ करोड ९० लाख बराबरको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन वृद्धि भएको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ। यस वर्ष औँसा किराको समस्या नदेखिएकाले उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष रु २६ करोड ४६ लाख बराबरको सुन्तला उत्पादन भएको थियो। पछिल्लो समय बाँझो खेतबारीमा सुन्तला खेती विस्तार हुन थालेपछि बर्सेनी उत्पादन बढ्दै गएको ज्ञान केन्द्रका प्रमुख कुमारपुन मगरले जानकारी दिए। बसाइँसराइका कारण रित्तिँदै गएका गाउँमा पनि राम्रो सुन्तला उत्पादन हुन थालेको उनले बताए।
पहिले कादो, मकै र गहुँलगायत खाद्य बाली लगाइने बारीमा अहिले सुन्तला खेती हुन थालेको प्रमुख पुन मगरले बताए। कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने भएकाले किसान सुन्तला खेतीप्रति आकर्षित भएका छन्। यस वर्ष चार हजार १६९ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। किसानले न्यूनतम प्रतिकिलो रु ६५ मा सुन्तला बिक्री गरेका छन्।
पछिल्लो समय सुन्तला खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। पहिले बाँझो रहेको जमिनमा पनि अहिले सुन्तला फल्न थालेका छन्। हरेक वर्ष सुन्तला खेती हुने क्षेत्रफल बढ्दै गएको छ। कोदो, मकै, गहुँ र फापर फल्ने बारी अहिले सुन्तलाका बोटले ढाकिएका छन्। धेरै झन्झट नहुने र कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने भएकाले सुन्तला खेतीप्रति आकर्षण बढ्दो छ।
वि.सं. २०७६ मा ५८५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएकोमा हाल बढेर ६६४ हेक्टर पुगेको छ। हाल ३८१ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भइरहेको ज्ञान केन्द्रले जनाएको छ। जिल्लाको काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेक क्षेत्रमा सुन्तला उत्पादन बढी हुन्छ।
काठेखोला गाउँपालिका–६ का किसान पशुपति कँडेलले अघिल्लो वर्ष रु छ लाख बराबरको सुन्तला बिक्री गरेकोमा यस वर्ष उत्पादन बढेकाले रु आठ लाखमा बगैँचा नै व्यापारीलाई दिएको बताए। समयमै वर्षा भएकाले सुन्तला उत्पादन राम्रो भएको उनको भनाइ छ। अघिल्लो वर्ष औँसा किराले करिब रु एक लाख बराबरको सुन्तला नष्ट गरेको उनले बताए।
सोही गाउँका किसान लोकनाथ कँडेलले गत वर्ष रु १३ लाखको सुन्तला बिक्री गरेकोमा यस वर्ष रु १५ लाखमा बेचेको जानकारी दिए। फल दिने बोटको संख्या बढेको र मौसमले साथ दिएकाले उत्पादनमा वृद्धि भएको उनले बताए।





























प्रतिक्रिया