आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

केन्द्रबिन्दु
3
Shares

देवदह। आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२÷०८३ को छ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

साउनदेखि पुससम्म रु ६ अर्ब ६३ करोड ७० लाख ५१ हजार सङ्कलन गर्ने लक्ष्य पाएको कार्यालयले रु ८ अर्ब १७ करोड १९ लाख ९७ हजार सङ्कलन गरेको छ । गत आवको सोही अवधिभन्दा राजस्व सङ्कलनमा ४७.४ प्रतिशत वृद्धि भएको छ। चालु आवको पुससम्म लक्ष्यभन्दा २३.१ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ, जुन गत आवको तुलनामा रु दुई अर्ब ६३ करोड बढी हो।

पुस महिनामा रु १ अर्ब २६ करोड ८७ लाख १३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा कार्यालयले रु १ अर्ब ६६ करोड ८७ लाख ९१ हजार सङ्कलन गरेको छ, जुन ३१.५ प्रतिशत बढी हो। चालु आवको कुल लक्ष्य रु १५ अर्ब ५० करोड राखिएको छ ।

आन्तरिक राजस्व कार्यालयको सक्रियताका कारण कर सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ। करदाताको घर ठेगाना, कारोबारस्थलमा पत्राचार, एसएमएस र टेलिफोनमार्फत सूचना, स्थानीय तहसँग समन्वय, नियमित क्षेत्रगत बजार अनुगमन र आर्थिक गतिविधि वृद्धिका कारण राजस्व सङ्कलन बढेको हो।

बजेटले दिएका छुट सुविधा कार्यान्वयन, करदाता शिक्षा प्रभावकारी बनाउने, नक्कली बिजक जारी गर्ने करदातामा कारबाही गर्ने र कर छली न्यूनीकरण गर्ने प्रयास पनि गरियो। विशेष अभियानमार्फत २०८२ कात्तिकदेखि पुससम्म रु १२ करोड ६२ लाख बाँकी–बक्यौता राजस्व सङ्कलन भएको थियो। आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क नबुझाएका करदातासम्म प्रत्यक्ष पुगेर दाखिला सुनिश्चित गरिएको छ ।

पुससम्म मूल्य अभिवृद्धि कर विवरण बुझाएर कर र २५ प्रतिशत ब्याज बुझाउने करदातालाई अन्य जरिवाना तथा थप दस्तुर मिनाहा गरिएको थियो। अन्तःशुल्कमा लाग्ने विलम्ब शुल्कको ५० प्रतिशत बुझाए बाँकी शुल्क र जरिवाना मिनाहा गर्ने व्यवस्था थियो। सो अवधिमा २१३ जना करदाताले छुट सुविधा लिए। मूल्य अभिवृद्धि कर विवरण नबुझाउने ४१९ जना करदाता हटाइएका छन्।

आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रमा करदाताको संख्या एक लाख १० हजारभन्दा बढी छ । यसमा सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका (वडा ५–१७), देवदह नगरपालिकाका वडा १–४, ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई, सियारी, शुद्धोदन गाउँपालिका (वडा ३) र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्ला पर्छ।

Logo