झापा। मेचीनगर–१० स्थित धुलाबारीमा मौलिक खानाको प्रवद्र्धन र जगेर्ना गर्ने उद्देश्यले तीन दिवसीय रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव सञ्चालन भएको छ ।
नन्दा करिडर प्रवद्र्धन केन्द्रको आयोजनामा यही माघ १५ गतेदेखि सुरु भएको उक्त महोत्सवमा ३० हजारभन्दा बढी अवलोकनकर्ताले स्थानीय समुदायको रैथाने परिकारको स्वाद चाखेको आयोजक समितिका अध्यक्ष धमेन्द्र खड्काले बताए। पर्यटकीय महत्वको नन्दा करिडरमा सञ्चालन भएको महोत्सवमा नेवार, राई, धिमाल, दनुवार, किसान र मेचे समुदायका परम्परागत तथा रैथाने खानाका परिकार र सांस्कृतिक झाँकीहरू प्रदर्शनी गरिएका थिए ।
विभिन्न जातजातिको मौलिक पहिचान, संस्कार र संस्कृति झल्काउने चित्रकलासमेत उत्सवमा प्रदर्शन गरिएको तथा महोत्सवलाई मेचीनगर नगरपालिका र पर्यटन कार्यालय काँकरभिट्टाले सहयोग गरेको उनले जानकारी दिए। हरेक वर्ष उक्त स्थानमा रैथाने खानाको संरक्षण, प्रचार र जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिँदै आएको छ । पर्यटकीय पूर्वीद्वार मेचीनगरमा सयौँ जातजातिको बसोबास छ । रैथाने खानाको महोत्सवले मौलिक पहिचान र परम्परालाई संवद्र्धन गर्न मद्दत पुगेको मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले बताए।
पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले महोत्सवले पर्यटकीय चहलपहल बढाएको र नयाँ पुस्तालाई आफ्नो परम्परागत खानपानसँग परिचित गराउने अवसर प्रदान गरेको बताए। मेचीनगरमा पहाडी र तराई मूलका सयौँ जातजातिको मिश्रित बसोबास छ । आदिवासी जनजाति मेचे समुदायको ऐतिहासिक बसोबास रहेको मेचीनगरमा धिमाल, दनुवार, राजवंशी, सन्थाल र किसानजस्ता अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायको ठूलो हिस्साको बसोबास छ ।
महोत्वसमा स्थानीय प्रमुख रैथाने परिकारहरू घोँगी, भक्का, योमरी, छोयला, कचिला, किनेमा, सेलरोटी, पेलका, माछाका परिकार, गँगटा, कन्दमूलका परिकार, ढिँडो, गुन्द्रुक, कोदोको रोटीलगायत विभिन्न परिकार बिक्रीका लागि कक्षमा राखिएका थिए ।





























प्रतिक्रिया