काठमाडौँ। काठमाडौँ महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ।
कामपाको वार्षिक कार्यक्रमअन्तर्गत कीर्तिपुर अस्पतालका लागि आवश्यक स्वास्थ्य उपकरण खरिद गर्न सम्झौता भएको हो। सम्झौतामा कामपाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र अस्पतालका तर्फबाट अध्यक्ष भरतकुमार प्रधान श्रेष्ठले हस्ताक्षर गरेका छन्।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार मेडिकल उपकरण खरिदका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ। सम्झौताबमोजिम सार्वजनिक खरिद प्रक्रियाबाट अस्पतालले एक थान एनेस्थेसिया मेसिन, २५० केभीएको एक थान जेनेरेटर र ५०० एमए क्षमताको एक थान डिजिटल एक्स–रे मेसिन खरिद गर्नेछ।
महानगरवासी तथा कीर्तिपुर अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको जनाइएको छ। जलन उपचारसहित अस्पतालले प्रदान गर्ने सेवाको क्षमता विस्तार गर्न अनुदान दिइएको हो।
अस्पताल पक्षले जलनका बिरामीको उपचार जटिल हुने भएकाले यस्तो सहयोगले सेवा प्रवाह सहज हुने जनाएको छ।































प्रतिक्रिया