दमौली। तनहुँका कृषकले यस वर्ष सुन्तला बिक्रीबाट ४५ करोड ५० लाख आम्दानी गरेका छन्। व्यावसायिक सुन्तलाखेतीतर्फ आकर्षण बढ्दै जाँदा उत्पादन र आम्दानी दुवै बढेको हो।
म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले मात्र यस वर्ष ९० लाखको सुन्तला बिक्री गरेका छन्। उनले २०५२ सालदेखि भिरालो जमिन प्रयोग गरेर व्यावसायिक सुन्तलाखेती सुरु गरेका थिए। बगानमै व्यापारी आउने भएकाले बजारको समस्या नभएको उनले बताए।
व्यास नगरपालिका–१३ बेनीकोटका कृषक दलबहादुर थापाले यस वर्ष १६ लाखको सुन्तला बिक्री गरेका छन्, जुन अघिल्लो वर्षभन्दा ३ लाख बढी हो। विदेशबाट फर्केर खेती सुरु गरेका गिरबहादुरले पनि यस वर्ष ३ लाख ५० हजार बराबरको सुन्तला बिक्री गरेका छन्।
कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा ११ हजार ८२१ दशमलव ७ मेट्रिकटन सुन्तला उत्पादन भएको छ। त्यसमध्ये ५ हजार ८२१ दशमलव ९ मेट्रिकटन सुन्तला बिक्री भएको छ। जिल्लामा कुल १ हजार ६७० हेक्टर क्षेत्रमा सुन्तलाखेती हुँदै आएको छ भने ९७७ हेक्टर क्षेत्रफलमा उत्पादन भइरहेको छ।
आँबुखैरेनी, घिरिङ, देवघाट, भिमाद, म्याग्दे, ऋषिङ, बन्दीपुर, व्यास र शुक्लागण्डकी क्षेत्रका विभिन्न गाउँ सुन्तला उत्पादनका प्रमुख पकेट क्षेत्र हुन्।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा तनहुँमा ३ हजार ७५० मेट्रिकटन सुन्तला उत्पादन भई ३० करोड बराबरको कारोबार भएको थियो। यस वर्ष उत्पादन र आम्दानी उल्लेखनीय रूपमा बढेको छ।
तनहुँमा उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, नारायणगढलगायतका बजारमा बिक्री हुने गरेको छ। अधिकांश व्यापारी बगानमै पुगेर सुन्तला खरिद गर्ने गरेका छन्।





























प्रतिक्रिया