काठमाडौं
मध्यमस्र्याङ्दी जलविद्युत आयोजना दस दिन सम्म मर्मत सम्भारका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण भार सम्प्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठका अनुसार फागुन १० देखि १७ गते सम्म ७० मेगावाटको जलविद्युत आयोजनालाई मर्मत सम्भारका लागि पूर्ण रूपमा बन्द गरिने भएको हो । आयोजनासँग ३५ मेगावाटका दुई वटा मेसिन रहेका छन् । ती मध्ये ३५ मेगावाटको पहिलो युनिट आइतबारबाट बन्द गरिएको छ । प्रमुख श्रेष्ठले भने, पहिलो युनिटलाई त हामीले आजै बाट बन्द गरिसक्यौँ । यो युनिट १८ दिन पछि बाँध क्षेत्रको सम्पूर्ण मर्मत सम्भार सम्पन्न भएपछि मात्र सुचारु हुनेछ ।
पहिलो युनिटको ३५ मेगावाट १८ दिन बन्द हुने भएको छ भने अर्को युनिट आगामी १० गतेबाट मात्र बन्द गरिनेछ । पहिलो युनिट बन्द गरेको बेला चार दिन सम्म दोस्रो युनिटको ३५ मेगावाट भने सुचारु हुने भएको छ । सुख्खायामको पिकिङआवरका लागि यो आयोजनाको महत्वपूर्ण भूमिका रहेको छ । दिनभर पानी जम्मा गरेर साँझ र बिहान पूर्ण क्षमतामा विद्युत उत्पादन गरी लोडसेडिङको समय कम गर्न यो आयोजना कोसेढुङ्गा सावित हुँदै आएको छ । प्राधिकरणको राष्ट्रिय प्रसारणबाट १० दिन सम्म ७० मेगावाट कम भएपछि सेवाग्राहीलाई कुलेखानी पहिलो र दोस्रो चलाएर विद्युत मागलाई व्यवस्थापन गर्ने योजना प्राधिकरणले बनाएको छ । प्रमुख श्रेष्ठले भन्नुभयो, यो अवधिमा ग्राहकलाई विद्युत आपूर्ति गर्न कुलेखानी चलाएर व्यवस्थापन गर्ने योजना बनाएका छौँ । लोडसेडिङ हुँदैन ।
गोरखापत्रबाट





























प्रतिक्रिया