कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका धाम (मुडका)मा लाग्ने परम्परागत मेला (जाँत)को तयारी पूरा भएको छ । यही फागुन १३ र १४ गते आयोजना हुने मेलाका लागि मन्दिर परिसरमा सरसफाइ, सडक मर्मत तथा व्यवस्थापनका कार्य सम्पन्न गरिएको छ ।
वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अनुसार मेला व्यवस्थित र सुरक्षित बनाउन पूर्वतयारी तीव्र पारिएको छ । मन्दिर परिसरभन्दा तल्लो क्षेत्रमा व्यापारिक प्रयोजनका लागि पसल राख्न मैदान सम्याउने, झाडी सरसफाइ गर्ने तथा आवश्यक संरचना मिलाउने काम सम्पन्न गरिएको छ ।
दर्शनार्थीको सहज आवागमनका लागि सवारीसाधन पार्किङस्थल निर्धारण गरिएको छ । मन्दिर परिसर र आसपास क्षेत्र दर्शनार्थीका लागि छुट्याइएको छ भने मेला क्षेत्रमा मदिरा पूर्ण रूपमा निषेध गरिएको छ ।
दर्शनार्थीका सवारीसाधन आवतजावत गर्ने सडक मर्मतको काम अगाडि बढाइएको छ । खानेपानीको उचित व्यवस्था मिलाइएको छ । शान्ति र सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरिएको छ । मेला अवधिभर अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा पारिने जनाइएको छ ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिलालाई मन्दिरमा दर्शनका लागि प्राथमिकता दिने निर्णय गरिएको छ ।
हरेक वर्ष फागुन शुक्ल पक्षको नवमीको राति र दशमीको दिन दिउँसो मुडकामा मेला लाग्ने परम्परा रहेको छ । मेलाका अवसरमा स्थानीय सरकारले सार्वजनिक बिदा दिने गरेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिले मुडकालाई जिल्लाकै महत्त्वपूर्ण गन्तव्यका रूपमा लिइन्छ ।
मुडकास्थित बैजनाथ बाबाको दर्शन गरेमा इच्छित फल प्राप्त हुने जनविश्वास रहेकाले मेलामा नेपाल र भारतका हजारौँ दर्शनार्थी सहभागी हुने गर्दछन् । यस अवसरमा व्यापारीको ठूलो जमघटसमेत हुने गर्दछ ।
मुडका क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर तथा नजिकै तलाउ रहेको छ । मन्दिर परिसर नजिकै रु दुई करोडभन्दा बढी लागतमा आधुनिक शैलीको भजनघर निर्माण गरिएको छ । पहिलोपटक मन्दिर क्षेत्रमा विद्युत् सेवा विस्तार गरिएको छ ।
पूर्वपश्चिम राजमार्गबाट झण्डै ११ किलोमिटर उत्तर चुरेको फेदीमा अवस्थित यो क्षेत्र प्राचीनकालदेखि पहाडी क्षेत्रबाट चौपायासहित हिउँदमा बसाइँ सर्नेहरूको आश्रयस्थलका रूपमा परिचित रहेको छ ।































प्रतिक्रिया