मणिकाधाममा नियमित विद्युत् सेवा विस्तार

मणिकाधाममा नियमित विद्युत् सेवा विस्तार

केन्द्रबिन्दु
42
Shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय स्थल मुडकाका मणिकाधाममा पहिलोपटक नियमित विद्युत् सेवा सुरु भएको छ। यसअघि भक्तजन अँध्यारोमा पूजाआराधना गर्न बाध्य थिए।

नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले करिब रु ६५ लाख लागतमा मुडकादेखि धारापानीसम्म करिब पाँच किलोमिटर क्षेत्रमा ८२ पोल जडान गरी ट्रान्सफर्मर स्थापना गरेको छ। पोल गाड्ने, तार तान्ने, इन्सुलेटर जडान र ट्रान्सफर्मर राख्ने सम्पूर्ण काम ठेक्का प्रक्रियामार्फत सम्पन्न गरिएको थियो।

विद्युत् सेवा विस्तारसँगै मन्दिर परिसर, नवनिर्मित भजनघर र आसपासका क्षेत्रमा बल्ब जडान भई क्षेत्र झिलीमिली बनेको छ। वडा नं ९ का अध्यक्ष रमेशबहादुर ऐरका अनुसार अँध्यारोका कारण भक्तजनले भोगेको कठिनाइ अब हटेको छ। पूर्वध्यक्ष भरतबहादुर ऐरले भने, “अब रातिको सत्सङ्ग, भजनकीर्तन र धार्मिक कार्यक्रम सहज रूपमा सञ्चालन गर्न सकिन्छ।”

मणिकाधाम धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो। यहाँ हरेक वर्ष फागुन शुक्ल पक्ष नवमी र दशमीमा परम्परागत मेला लाग्ने गर्दछ। नेपाल र भारतका हजारौँ दर्शनार्थी यहाँ आउने गर्दछन्।

विद्युत् सेवा विस्तारसँगै रातिको समयमा पनि मेलामा भक्तजनले अँध्यारोको सास्ती नबोह्ने भएकाले धार्मिक कार्यक्रम, पूजाआराधना र स्थानीय व्यापार–व्यवसायमा नयाँ ऊर्जा थपिने विश्वास लिइएको छ। यस कदमले मणिकाधामलाई अझ आकर्षक र पर्यटकमैत्री बनाउने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo