पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै

पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै

केन्द्रबिन्दु
12
Shares

गण्डकी। पोखरा महानगरपालिकामा यस वर्ष करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती विस्तार हुने भएको छ।

पोखरा महानगरले किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएसँगै खेती विस्तार हुँदै गएको हो। पछिल्ला वर्षमा महानगरका विभिन्न स्थानमा तरबुजाखेती बढ्दै गएको कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए। उनका अनुसार यसलाई व्यावसायिक रूपमा अघि बढाउने तयारी गरिएको छ।

“तरबुजाखेतीप्रतिको आकर्षण बढ्दो छ,” उनले भने, “यस वर्ष पोखरा क्षेत्रमा करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती गर्न लागिएको छ।”

यस वर्ष ३०० रोपनी क्षेत्रफलका लागि किसानलाई बीउ अनुदानमा वितरण गरिएको छ। अनुदानबाहेक पनि ठूलो क्षेत्रफलमा किसानहरूले आफैं बीउ खरिद गरी तरबुजाखेती गर्ने तयारी गरेका छन्। महानगरपालिकाले बीउ र मल्चिङमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ।

अघिल्लो वर्ष वडा नम्बर १३, १४, ३३ लगायतका स्थानमा झण्डै २०० रोपनीमा तरबुजाखेती गरिएको थियो। त्यसबाट करिब दुई करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। किसानलाई प्रोत्साहन गर्न महानगरपालिकाले तरबुजा मेला समेत आयोजना गर्दै आएको छ।

उत्पादक किसानका लागि तरबुजाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ३५ रुपैयाँ तोकिएको छ। पोखरामा विशेषतः ‘सरस्वती’ जातको तरबुजा बढी लगाइन्छ।

Logo