काठमाडौं ।
यो वर्ष तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान व्यापारीहरुले गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण विगत भन्दा यो वर्ष ७० प्रतिशतले व्यापार कम हुने व्यापारीहरुको अनुमान छ ।
तिहार आउन केही दिनमात्रै बाँकी रहेपनि बजारमा विगत जस्तो तामझाम भने देखिएको छैन । मानिसहरुको भिडभाड कम हुनु, कोभिडका कारण उपत्यकाबाट धेरैजसो गाउँ फर्किनु लगायतका कारण व्यापारमा कमि आउने व्यवसायीहरुको भनाई छ । तिहार भन्ने बित्तिकै सम्झना आउने भनेका झिलिमिलीको हो ।
माटाका पाला, विद्युतीय बत्ती, पटाका आदि यसका विशेषता हुन् । तिहारमा नेपालीहरुले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तर, यसपटक कोरोना कहरले गर्दा व्यापार धेरै नहुने भएकाले व्यवसायीहरु भने निराश भएका छन् । सुन्धारा क्षेत्रमा विगत १० वर्षदेखि व्यापार गर्दै आएका मानिस विक्रम शाह कोरोनाका कारण व्यापारीहरुलाई मारमा पारेको बताए । तिहारमा सबैभन्दा बढी व्यापार हुने झिलिमिली बत्ती भए पनि यो वर्ष ३० प्रतिशतभन्दा बढी हुन नसकेको उनले बताए । धेरै व्यवसायीहरु विस्थापित हुनुपरेको अवस्थालाई मध्यनजर गर्दै सरकारले आवश्यक नीति लिएर समस्या सम्बोधन गरिदिनुपर्ने उनले बताए ।
अर्का व्यापारी भक्तिप्रसाद भट्टराईले पनि बजारमा झिलिमिल बित्ती किन्नेहरुको भिडभाड विगत जस्तो नभएको बताए । नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार विगत वर्ष भन्दा ४० प्रतिशत कम मात्रै बत्तीहरु आयात भएका छन् ।
कोरोनाका कारण व्यवसायीहरुले भोग्नु परेको समस्या र चीनसँगको नाकाबाट सहजरुपमा सामान आयात नहुँदा समस्या भएको महासंघको भनाई छ । माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने कपासको बत्तीले गाउँसहर झिलिमिली हुने गरेकोमा अहिले विद्युतीय बत्तीमा आकर्षण बढेको छ । देशमा लोडसेडिङको समस्या पनि हटेपछि विद्युतीय बत्तीमा मानिसहरु आकर्षित भएका हुन् ।





























प्रतिक्रिया