ढोरपाटन। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्युत्को भरमा थिए ।
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारबाट ३५ किलोमिटर पश्चिममा रहेको ढोरपाटनमा केन्द्रीय लाइन पुर्याएको हो । प्राधिकरणका बागलुङ प्रमुख दिलीप मरासिनीका अनुसार ११ केभी विद्युत् लाइन ढोरपाटनसम्म विस्तार गरिएको छ । अघिल्लो वर्षदेखि विद्युत् पोल गाड्ने र लाइन तान्ने काम सुरु भएको थियो र बिहीबारदेखि नियमित विद्युत् प्रसारण सुरु भएको छ ।
करिब रु १५ करोड लागतमा ढोरपाटनमा विद्युत् पुर्याइएको जनाइएको छ । ढोरपाटनसम्म लाइन पुगेपछि अब स्थानीयका घरघरमा विद्युत् विस्तार गरिने योजना रहेको छ । ढोरपाटन जोड्ने ११ केभी प्रसारण लाइन बिहीबारदेखि चार्ज गरिएको छ ।
पश्चिम बागलुङको बुर्तिबाङमा केही वर्षअघि मात्रै केन्द्रीय लाइन पुगेको थियो भने त्यसपछि अधिकारीचौरसम्म विस्तार गरिएको थियो । अहिले ढोरपाटनसम्म लाइन पुगेपछि सानो हाइड्रोपावरबाट विद्युत् सेवा लिँदै आएका स्थानीयले केन्द्रीय विद्युत् प्रयोग गर्न पाउने भएका छन् ।
ढोरपाटन क्षेत्रमा एक बजारसहित धेरै घरधुरी छन् । स्थानीयले ४० किलोवाटको गर्पाखोला लघुजलविद्युत् आयोजना र ६० किलोवाटको ढोरपाटन भुजीखोला लघुजलविद्युत् आयोजनाबाट विद्युतीय सेवा लिँदै आएका थिए ।
विसं २०६८ मा सञ्चालनमा आएको गर्पाखोला लघुजलविद्युत् आयोजना र पाँच वर्षअघि सञ्चालनमा आएको ढोरपाटन भुजीखोला लघुजलविद्युत् आयोजनाबाट पर्याप्त विद्युत् उत्पादन नहुँदा स्थानीयले समस्या झेल्दै आएका थिए । ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्तीमगरका अनुसार केन्द्रीय लाइन आएपछि अब विद्युत् आपूर्तिमा सहजता आउने अपेक्षा गरिएको छ ।
ढोरपाटन उपत्यकाको सलथान, बिजौलीखोला, छन्तुङ, खाल्डेखुल्डेलगायत क्षेत्रमा करिब २५० भन्दा बढी घरमा अहिलेसम्म विद्युत् पुगेको छैन । स्थानीयले माग गरेपछि सहजीकरण गरेर लाइन जडान गरिने जनाइएको छ ।
ढोरपाटनका धेरै घरमा अझै पनि विद्युत् नपुगेको अवस्था रहेको र केही स्थानीय टुकी र दियालो बालेर रात बिताउन बाध्य रहेको उल्लेख गरिएको छ । केन्द्रीय लाइन पुगेपछि उक्त समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनका अनुसार स्थानीय हाइड्रोपावरबाट पर्याप्त विद्युत् उत्पादन नहुँदा विद्युतीय मेसिन सञ्चालन गर्न समस्या थियो । अब कपडा धुने मेसिन, हिटरलगायत उपकरण चलाउन सकिने भएको छ ।
ढोरपाटन क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले वर्षभरि हिटर प्रयोग गर्नुपर्ने अवस्था भए पनि कम क्षमताको विद्युत्का कारण प्रयोग गर्न कठिनाइ हुँदै आएको थियो । पछिल्लो समय ढोरपाटनमा पर्यटकको आकर्षण बढ्दै गएको र केन्द्रीय विद्युत् पुगेपछि होटल व्यवसाय सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।
विद्युत् प्राधिकरणले छेन्तुङसम्म लाइन विस्तार गरिसकेको छ । ढोरपाटन सिकार आरक्ष कार्यालय, आर्मी ब्यारेक र विद्यालयहरूमा पनि विद्युत् लाइन जोडिने भएको छ । ढोरपाटनमा पहिलोपटक केन्द्रीय लाइन पुगेपछि स्थानीयवासीमा उत्साह देखिएको छ ।
स्थानीय कुलबहादुर विकका अनुसार स्थानीय हाइड्रोपावरबाट कम क्षमताको विद्युत् उत्पादन हुँदा ढोरपाटनका धेरै बस्तीमा विद्युत् पुगेको थिएन । अब अधिकांश घरधुरीमा विद्युत् पुग्ने आशा बढेको छ । यहाँका अधिकांश स्थानीय बर्खायाममा ढोरपाटन र हिउँदमा बेँसी क्षेत्रमा बसोबास गर्ने गर्छन् । बर्खायाममा अँध्यारोमा बस्नुपर्ने समस्या अब समाधान हुने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया