साजन परियार, पर्वत । पर्वतबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भएको कुल २७ लाख ३३ हजार रुपैयाँ खर्चको विवरण बिहीबार जिल्ला निर्वाचन कार्यालय पर्वतमा बुझाएका हुन् ।
जोशीले बुझाएको खर्च विवरण अनुसार सबैभन्दा बढी रकम चुनाव प्रचारप्रसार तथा मतदाता शिक्षामा खर्च भएको छ । उक्त शीर्षकमा मात्रै १२ लाख ५० हजार रुपैयाँ खर्च गरिएको उल्लेख गरिएको छ ।
त्यसैगरी मनोनयन दर्तामा १० हजार, यातायात तथा इन्धनमा १० लाख, खाजाखानामा १ लाख ५ हजार, मसलन्द तथा स्टेशनरीमा १ लाख, सम्पर्क कार्यालय स्थापनामा १ लाख ७५ हजार, झण्डा छपाइमा ७८ हजार तथा विविध शीर्षकमा १५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरूले निर्वाचनको क्रममा अधिकतम ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।
हालसम्म जोशीले मात्रै आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् भने अन्य उम्मेदवारहरूले अझै विवरण बुझाएका छैनन् । कानुनी प्रावधान अनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ ।






























प्रतिक्रिया