गण्डकी। कुनै समयको चर्चित भनाइ थियो, ‘शिक्षा नपाए कि जानु काशी, कि जानु कास्की’। प्राचीनकालदेखि नै शिक्षाको विशिष्ट गन्तव्यका रूपमा चासो र चर्चा कमाएको कास्कीमा १८–१९औँ शताब्दीतिर अन्नपूर्ण गाउँपालिका, पाउँदुरमा सञ्चालित पिँढी पाठशाला र विन्ध्यवासिनी क्षेत्रमा सञ्चालित पठनपाठनका कारण यो क्षेत्र शिक्षाको केन्द्रका रूपमा रहेको थियो।
तत्कालीन समयमा पाउँदुरमा पौडेल थरका व्यक्तिले पिँढीमा राखेर पढाउने भएकै कारण त्यसबेला पिँढी पाठशाला भन्ने गरिन्थ्यो। त्यही समयमा विन्ध्यवासिनी आसपासमा पराजुली र रेग्मी थरका विद्वानले गुरु–शिष्य परम्पराअनुसार पठनपाठन गराउँदै आएका थिए। कास्कीमा सञ्चालित गुरुकुल शिक्षा प्रणालीकै जगमा १९५८ सालमा प्रधानमन्त्री देवशमशेरका पालामा मुलुकभर प्राथमिक पाठशाला खोल्ने नीतिअनुरूप परम्परागत गुरुकुल चलेकै स्थान विन्ध्यवासिनी क्षेत्रमा रुद्रनाथ पौडेल (अघौँ) तथा पं. श्री गुणानिधी पराजुली (मिरुवा, पोखरा) को पहलमा औपचारिक विद्यालय खुलेको शिक्षासेवी तथा संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिए।
सुरुआतमा यस विद्यालयमा संस्कृत तथा नेपाली श्रेस्ता शिक्षा विषयमा दुई जना गुरुबाट पठनपाठन सुरु गरिएको थियो। पहिला यहाँ अध्ययन गरेका विद्यार्थी संस्कृत शिक्षाको परीक्षा दिन बनारस जानुपर्ने र श्रेस्ता शिक्षाको परीक्षा दिन काठमाडौँ जानुपर्ने व्यवस्था थियो। पछि निजामती प्रथम परीक्षा यहीँ हुने र निजामती मध्यमा परीक्षा दिन काठमाडौँ जानुपर्ने प्रावधान लागू भएको जानकारी दिइएको छ।
पोखरा महानगरपालिका–१ भीमकाली पाटनस्थित संस्कृत माध्यमिक विद्यालय जिल्लाको मात्र नभई समग्र गण्डकी प्रदेशकै जेठो विद्यालय हो। २०२८ सालको राष्ट्रिय शिक्षा पद्धति योजनाको सुरुआतसँगै शिक्षा ऐनले निर्देश गरेबमोजिम यस विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको थियो। सो ऐनअनुसार विद्यालय व्यवस्थापन समितिको पहिलो अध्यक्षको जिम्मेवारी भोलानाथ पराजुलीले लिएका थिए।
त्यसपछि अध्यक्षको जिम्मेवारी क्रमशः मुकुन्दशरण उपाध्याय, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ, मोतीमान शाक्य, केशवराज पराजुली, चक्रपाणी सुवेदी, चिजमान गुरुङ, राजेन्द्ररमण पराजुली, गोविन्द नेपाली, ईश्वरीलाल श्रेष्ठ हुँदै हाल विष्णुप्रसाद अधिकारीले सम्हालिरहेका छन्।
विद्यालयको शैक्षिक प्रशासनतर्फ स्थापनाकालीन समयमा प्रधानाध्यापकको जिम्मेवारी रुद्रनाथ पौडेलले सम्हालेका थिए। त्यसपछि क्रमशः गुणनिधि पराजुली, देवीरमण पराजुली, शिवकुमार रेग्मी, सोमनाथ रेग्मी, टङ्कनाथ पराजुली, बालमुकुन्द रेग्मी, बद्री पहारी, शुकदेव बराल, इन्द्रप्रसाद पराजुली, आत्माराम बाँस्तोला, जनार्दन त्रिपाठी, तोयनाथ पौडेल, तारा पाखे, दामोदर बाँस्तोला, कृष्णप्रसाद देवकोटा, गोविन्दप्रसाद सिग्देल हुँदै हाल श्रीकृष्ण सिग्देल प्रधानाध्यापक छन्।
अभिलेखअनुसार २०१३ सालमा सुन्दरप्रसाद मर्सानीको अध्यक्षतामा रहेको समितिले विर्तावाल रत्नाकर पराजुलीबाट राजकीय संस्कृत प्रधान पाठशालाका नाममा जग्गा हस्तान्तरण गराई पठनपाठनको व्यवस्था मिलाएको पाइन्छ।
त्यस्तै २०२१ सालमा अञ्चलाधीश नन्दबहादुर मल्ल अध्यक्ष रहेको समितिले हस्तान्तरित जग्गामा भवन निर्माण गराएको देखिन्छ। विर्ताबाट विद्यालयलाई प्राप्त ८२ रोपनी जग्गामध्ये १० रोपनी जग्गा विन्दुबासिनी संस्कृत विद्यापीठलाई प्रदान गरी संस्कृततर्फ उच्च शिक्षा सञ्चालन गरिएको छ।
विद्यालयमा २०२८ सालको नयाँ शिक्षा लागू हुनु अघि संस्कृत, नेपाली र व्याकरण मात्र पढाइँदै आएको थियो। २०२८ सालपछि अनिवार्य शिक्षासमेत समावेश गरी राजकीय संस्कृत प्रधानपाठशालाबाट संस्कृत माध्यमिक विद्यालय नामकरण गरिएको व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले जानकारी दिए।
संस्कृत शिक्षाप्रतिको आकर्षण बढाउन २०७४ सालदेखि विद्यालयमा देशका दूरदराजमा रहेका विद्यार्थीलाई निःशुल्क आवास र भोजनको व्यवस्था गरिएको छ। विद्यालय सुधार योजना निर्माण तथा कार्यान्वयनसँगै विद्यार्थी संख्या बढाएर २२० पु¥याइएको छ।
विद्यालयका आवासीय बटुकहरूले नियमित रूपमा ध्यान, रुद्राभिषेक, विष्णु सहस्रनाम पाठलगायत आध्यात्मिक गतिविधि सञ्चालन गर्दै आएका छन्। कर्मकाण्डसम्बन्धी विषयको प्रयोगात्मक अध्ययनका लागि मन्दिर तथा हवन कुण्डसमेत निर्माण गरिएको छ।
भौतिक पूर्वाधार विकासमा उपलब्धि
२०७८ साउनदेखि अधिकारीको नेतृत्वमा व्यवस्थापन समिति गठन भएपछि विद्यालयमा भौतिक पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले बताए। यस अवधिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा करिब ९२ लाख लागतमा चारकोठे पक्की भवन, पानी ट्याङ्की र शौचालय निर्माण गरिएको छ।
विद्यालय परिसरमा रोकिएको शिव पाञ्चायन मन्दिर निर्माण सम्पन्न भई शिवलिङ्ग, गणेश, विष्णु, देवी, सूर्यसहित लक्ष्मीनारायण, राधाकृष्ण, सीताराम, सरस्वती, अष्टचिरञ्जीवी र नवग्रहका प्रतिमाहरू स्थापना गरी नित्य पूजा सुरु गरिएको छ। मन्दिर परिसरमा हवन कुण्ड पनि निर्माण गरिएको छ। रोटरी क्लबको सहयोगमा करिब ३६ लाख लागतमा चारकोठे भवन थप गरिएको छ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा तथा गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा अडिटोरियम हल, विज्ञान प्रयोगशाला स्तरोन्नति, भवन निर्माण तथा गुरुकुल बसोबास व्यवस्थापन गरिएको छ। विभिन्न सहयोगदाताको सहकार्यमा विद्यालय तथा मन्दिर परिसरमा पुष्पबाटिका, सात वटा चौतारी निर्माण तथा धार्मिक महत्वका बिरुवा रोपिएको छ।
पोखरा महानगरपालिका–१ तथा विभिन्न दाताको सहयोगमा छात्रवृत्ति, खानेपानी तथा खेल मैदान निर्माण गरिएको छ।
विद्यालयको गुरुकुलतर्फ पहिले ११ जना मात्र बटुक रहेकोमा हाल संख्या बढेर ७० पुगेको छ। उनीहरूलाई निःशुल्क आवास तथा भोजनको व्यवस्था गरिएको छ। गुरुकुल व्यवस्थापनका लागि छुट्टै उपसमिति गठन गरिएको छ। हाल गुरुकुलमा ६ जना विशिष्ट सदस्य र १८६ जना आजीवन सदस्य रहेका छन्।
गुरुकुल सञ्चालनका लागि महर्षि वैदिक फाउन्डेशनसँग सम्झौता भएको छ। उक्त संस्थाले मासिक रूपमा भोजन व्यवस्थापनका लागि ५० हजार र ध्यान शिक्षकका लागि २२ हजार उपलब्ध गराउँदै आएको छ।
विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि न्यून शुल्कमा अतिरिक्त कक्षा सञ्चालन गरिएको छ। यसले बीएलई, एसइई र कक्षा १२ को नतिजामा सुधार ल्याएको विद्यालयका सूचना अधिकारी श्रीकान्त सापकोटाले जानकारी दिए। विद्यार्थीलाई वेद तथा कर्मकाण्डसम्बन्धी अतिरिक्त कक्षा तथा व्यावहारिक सीप प्रदान गरिएको छ। संस्कृत विषयतर्फ ‘प्लस टु’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ र नेपाल संस्कृत विश्वविद्यालयसँग सहकार्य गरी दश जोड दुई कार्यक्रममा निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ। विद्यालयले भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर सुधारमा पनि काम गर्दै आएको छ।





























प्रतिक्रिया