जलजला गाउँपालिकाद्धारा उद्यमीलाई विना धितो ऋण प्रदान

जलजला गाउँपालिकाद्धारा उद्यमीलाई विना धितो ऋण प्रदान

केन्द्रबिन्दु
6
Shares

पर्वत। पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई बिनाधितो ऋण उपलब्ध गराएको छ। तीन वर्षअघि सुरु भएको यस कार्यक्रमबाट हालसम्म ५० जनालाई रु ४९ लाख ७५ हजार बिनाधितो ऋण लगानी गरिएको छ।

गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यका अनुसार ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत शुक्रबार थप रु नौ लाख अनुदान उपलब्ध गराइएको हो। विभिन्न प्रकृतिका उद्यमको वर्गीकरण गरी छनोट भएका उद्यमीलाई किस्ताबन्दीमा फिर्ता गर्ने गरी एक जनालाई रु एक लाखका दरले अनुदान उपलब्ध गराइएको छ। वडा विकास कार्यक्रममार्फत टोल विकास संस्थाका सदस्यलाई आत्मनिर्भर बनाउन तथा आर्थिक स्तर वृद्धि गर्न पछिल्लो तीन वर्षदेखि घुम्ती कोष परिचालन गरी सहयोग हुँदै आएको छ।

यसअघि गत कात्तिकमा १२ जनालाई रु १२ लाख, विसं २०८१ मा २० जनालाई र २०८० मा नौ जनालाई सहयोग गरिएको थियो। हालसम्म ५० जनालाई रु ४९ लाख ७५ हजार बिनाधितो ऋण लगानी भएको गाउँपालिकाको तथ्यांक छ।

थप ऋण पाउनेमा वडा नं १ का चक्रे दमाई, वडा नं ३ का सोमबहादुर दमाई, दुर्गा रेग्मी, शन्तु भण्डारी, वडा नं ४ का रिता मल्ल, बसन्तीकुमारी मल्ल, दुर्गबहादुर दर्जी, वडा नं ६ का कौशिला नेपाली र वडा नं ७ का रोहितप्रसाद आचार्य रहेका छन्। सहुलियत ब्याजदरमा बिनाधितो प्राप्त घुम्ती कोषको रकम अवधि पुगेपछि टोल विकास संस्थामा फिर्ता गर्नुपर्ने व्यवस्था छ।

असल उद्यमी निर्माण, उद्यमशीलताको विकास, भौतिक पूर्वाधारका काममा गुणस्तर कायम, कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भरता, युवाको विदेश पलायन न्यूनीकरण तथा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

कृषि उद्यमलाई प्रभावकारी बनाउन र गरिबी न्यूनीकरण गर्ने लक्ष्यसहित घुम्ती कोष परिचालन गरिएको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताए। उनका अनुसार हरेक वर्ष फरक–फरक उद्यमीलाई बीउँपुँजी सहयोग गरिँदै आएको छ। पालिकाभित्र व्यावसायिक रूपमा फलफूल तथा तरकारी उत्पादन, पशुपक्षीपालन, घरेलु औजार तथा उपकरण निर्माणजस्ता स्वरोजगारमूलक काम गरिरहेका उद्यमीलाई प्रोत्साहन मिल्ने र यस क्षेत्रमा लाग्न चाहने युवालाई पनि प्रेरणा पुग्ने अपेक्षा गरिएको छ।

Logo