तनहुँ । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा मादी नदीमाथि निर्माण भइरहेको चार लेनको नयाँ पुलको काम तीव्र गतिमा अघि बढेको छ।
व्यास नगरपालिका–४ र ५ जोड्ने पुल निर्माणको काम करिब ७७ प्रतिशत पूरा भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ। हाल दुवैतर्फको फाउण्डेशन सकिएर आर्क डिजाइनको संरचना बनाउने काम भइरहेको छ।
पुल निर्माणका लागि २०७९ साउन २६ गते अन्नक जेडआइस्टी जेभीसँग सम्झौता भएको थियो। सुरुमा तीन वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको भए पनि ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म समय थपिएको छ।
करिब तीन सय १५ मिटर लम्बाइको पुलमा छ वटा स्पान रहनेछन्। पुलको दुवैतर्फका ‘प्रिस्टेटस् बक्स गडर’ स्पानको काम सम्पन्न भइसकेको छ भने बीचका दुई स्पान कंक्रिट नेचर आर्क ब्रिजका रूपमा निर्माण भइरहेका छन्।
एक अर्ब २१ करोड रुपैयाँ (भ्याटसहित) लागतमा निर्माण भइरहेको यो पुल २३ मिटर चौडाइको हुनेछ। एउटै मोनोलेथिक संरचनामा बन्ने यो पुल नेपालकै पहिलो मानिएको छ।
निर्माण स्थलमा दैनिक करिब १५० कामदार खटाइएका छन्। निर्धारित समयभन्दा अगावै निर्माण सक्ने लक्ष्य निर्माण कम्पनीले राखेको छ।
हाल मादी नदीमाथि रहेको पुरानो दुई लेनको पुल ३७० मिटर लामो छ। नयाँ पुल सो पुलभन्दा करिब ५० मिटरको दूरीमा निर्माण भइरहेको छ।





























प्रतिक्रिया