कालीकोट। जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कृत्रिम अभाव सृजना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ। मध्यपूर्व क्षेत्रमा देखिएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति र मूल्यमा प्रभाव पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले यस्तो सूचना जारी गरेको हो।
प्रशासनका अनुसार पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कारोबार गर्ने डिलर, डिस्ट्रीब्युटर तथा व्यवसायीहरूले कृत्रिम अभाव सृजना गर्ने उद्देश्यले अनावश्यक रूपमा मौज्दात गर्ने, लुकाइछिपाइ भण्डारण गर्ने वा बिक्रीवितरणमा अवरोध पु¥याए प्रचलित कानुनअनुसार कडा कारबाही गरिनेछ।
उपभोक्तालाई आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थ तथा ग्यास भण्डारण नगर्न पनि आग्रह गरिएको छ। इन्धनको अनावश्यक प्रयोग नगरी मितव्ययी प्रयोग गर्न तथा सम्भव भएसम्म वैकल्पिक ऊर्जा स्रोत, विशेषगरी विद्युतीय उपकरण (इन्डक्सन चुलोलगायत) प्रयोग गर्न प्रशासनले अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले जानकारी दिए।
कानुनविपरीत कृत्रिम अभाव सृजना गर्ने व्यक्ति, फर्म वा संस्थाबारे जानकारी पाएमा सम्बन्धित निकायलाई सूचित गर्न पनि प्रशासनले सबैमा अपिल गरेको छ।
ग्यासको अभाव छैन : उद्योग वाणिज्य सङ्घ
खोटाङः देशभर खाना पकाउने ग्यास अभाव भएको हल्ला फैलिरहेका बेला खोटाङमा भने अभाव नरहेको उद्योग वाणिज्य सङ्घले जनाएको छ। इरान र अमेरिकाबीच जारी युद्धका कारण बाहिरबाट ग्यास नआए पनि जिल्लामा हाल अभाव नभएको सङ्घको भनाइ छ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रिजाललगायतका ग्यास सिलिन्डर पर्याप्त रहेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिए। कम्पनीहरूले नपठाएका कारण केही दिनअघि नोबेल ग्यास भने कम भएको थियो। कटारीबाट ३०० वटा सिलिन्डर पठाइएकाले तत्कालका लागि अभाव नहुने अवस्था रहेको उनले बताए।
हाल धेरै उपभोक्ताले घरमा दुईदेखि तीन वटासम्म ग्यास सिलिन्डर भण्डारण गरेर राखेको अवस्था छ। इरान–अमेरिका युद्ध लामो समयसम्म जारी रहे जिल्लामा ग्याससँगै दैनिक उपभोग्य सामानको समेत अभाव हुन सक्ने देखिएको छ। अन्यथा अहिले कुनै सामानको अभाव नरहेको जनाइएको छ।
ग्यास अभावको हल्ला फैलिएपछि विशेषगरी विद्यार्थीलाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्ने तयारी गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ। विद्यार्थी तथा कोठा भाडामा बस्ने कर्मचारीलाई ध्यानमा राखेर एउटामात्र सिलिन्डर भएका उपभोक्तालाई प्राथमिकता दिने तयारी गरिएको छ।
ग्यास चुलोले छिटो, सजिलो र सस्तो गरी खाना पकाउन सकिने भएकाले गाउँका अधिकांश घरमा दाउरा प्रयोग कम हुँदै गएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका दिलकुमार राईले बताए। ग्यास अभावको हल्ला गाउँसम्म फैलिएको र धेरै घरमा अगेना हटाइसकिएको उनले बताए। अभाव भए वृद्धवृद्धा मात्र बस्ने घरमा समस्या हुन सक्ने देखिएको उल्लेख गरिएको छ।
जिल्लामा ग्यास तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी नगर्न जिल्ला प्रशासन कार्यालय खोटाङले व्यापारीलाई आग्रह गरेको छ। कृत्रिम अभाव र कालोबजारी भएको पाइए कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन्।





























प्रतिक्रिया