ढोरपाटन। बागलुङ–१ अन्तर्गतको रणनीतिक सडकले साढे दुई दशकपछि पनि गति लिन सकेको छैन। विसं २०५७ मा अदालत चौपारीदेखि गौँडाकोट, तित्याङ हुँदै रायडाँडा जोड्न मार्ग खुलेको भए पनि सडकको स्तरोन्नतिको काम अहिले मात्र ४० प्रतिशत मात्र सम्पन्न भएको छ।
सिगाना–तित्याङको कमलडाँडाबाट मार्ग खुलेको सडक अहिले अदालत चौपारीदेखि भकुन्डे–रायडाँडा हुँदै बरेङ गुल्मीको शान्तिपुरसँग जोडिएको छ। विसं २०८० चैतमा दुई वर्षमा १५ किलोमिटर कालोपत्र गर्नेगरी बिडारी÷तुँदी निर्माण कम्पनीले जिम्मा पाएको थियो।
ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत एसियाली विकास बैंकको रु २८ करोड ऋण सहयोगमा सडक निर्माण भइरहेको भए पनि समयमै स्तरोन्नति नहुँदा हजारौँ यात्रुले समस्या भोग्नुपरेको छ। बागलुङ नगरपालिका–१० का पदमबहादुर थापाका अनुसार भकुन्डे गाउँ पुग्न डेढ घण्टा लाग्ने दूरी अहिले सडकको खराब अवस्थाका कारण दोब्बर समय लाग्छ। वर्षा लाग्दा हिलो र जाडोमा धुलोले यात्रा कठिन भएको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ।
भकुन्डे हुँदै रायडाँडा जोड्ने करिब ६ किलोमिटर सडकमा मात्र नालीको काम भइरहेको छ। बागलुङ नगरपालिकाको सबैभन्दा विकट बस्ती रायडाँंडा जोड्ने उक्त सडकको ढिलाइले सामान ढुवानी र यात्रामा समस्या सिर्जना गरेको छ। वडाध्यक्ष ज्ञानेन्द्र गौतमका अनुसार साँघुरो र अप्ठ्यारो सडकका कारण यात्रा गर्न दुई–तीन घण्टा लाग्ने भएको छ भने दुर्घटना हुने जोखिम उच्च छ।





























प्रतिक्रिया