तुलसीपुर। घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि गुर्जेखोलादेखि बेलझुन्डीसम्मका विद्युत् पोल हटाइएको छ। नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रअन्तर्गत पर्ने सो क्षेत्रमा पोल हटाएर सडक निर्माणको काम अघि बढाइएको हो।
घोराहीको सर्रादेखि घोराही बजारसम्म पोल निकाल्ने काम भइरहेको छ। घोराही कार्यक्षेत्रका सबै पोल हटाउने तयारी भइसकेको छ भने घोराहीदेखि बेलझुन्डीसम्म साढे चार सय बढी पोल हटाउने योजना छ। तुलसीपुर वितरण क्षेत्रमा पनि ३०० भन्दा बढी पोल हटाइने बताइएको छ। उक्त सडकखण्डमा ११ केभी र ३३ केभी लाइन रहेका छन्।
सडक बीचमा पर्ने ५९ रुख हटाउने प्रक्रिया पनि अघि बढेको छ। रुखमा छपान (चिह्न लगाउने) काम भइसकेको र अबको केही समयमा रुख हटाइने छ।
हाल चार लेन सडकमा पर्खाल निर्माण, कल्भर्ट निर्माण र माटो कटानको काम जारी छ। श्री दिवा–बन्दना भगवती जेभीले सडक स्तरोन्नति गर्दैछ। डिके पेट्रोलपम्पदेखि हातीखौवासम्म २१ किलोमिटर ५८ मिटर कालोपत्र सडकको चौडाइ चार लेन रहनेछ। बीचमा मेडिएन र दुवैतर्फ दुई–दुई लेनको लेआउट हुनेछ।
सडक स्तरोन्नतिको क्रममा माथिल्लो कालोपत्र हटाइएपछि आवश्यक मोटाइमा फिलिङ गरी कालोपत्र गरिनेछ। सडक सुधार आयोजना मदन भण्डारी सडकमार्ग परियोजनाअन्तर्गत ठेक्का सम्झौता भएको थियो। सडक चौडाइ ३० मिटर हुनेछ र अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिनेछ। सम्झौता अनुसार काम ३६ महिनामा सम्पन्न हुने छ।
गत २४ असारमा भ्याटबाहेक रु दुई अर्ब २४ करोड ५६ लाखमा चार लेन सडक निर्माणको ठेक्का लागेको हो। यसअघिको ठेक्का रद्द भएपछि २०८१ साउनदेखि नयाँ प्रक्रिया सुरु गरिएको थियो। सडक बीचमा पर्ने सेवारखोला, हापुरखोला, ग्वारखोला र कालाखोलामा चार लेन पुल निर्माणको काम पनि अघि बढिसकेको छ।





























प्रतिक्रिया