दमौली। घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको स्तरोन्नति गर्न गरिएको ठेक्का सम्झौता अन्त्य गरिएको छ। गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को गत फागुन १४ गतेको बैठकले ठेक्का तोड्ने निर्णय गरेको हो।
यस सडक २५ किलोमिटर स्तरोन्नति गर्ने योजना २०७३ साल वैशाख २३ गते सन्तोषी निर्माण सेवा प्रालिसँग सम्झौता गरी सुरु गरिएको थियो। प्रदेश संरचना लागू भएपछि आयोजना पूर्वाधार विकास कार्यालय तनहुँमा हस्तान्तरण भएको थियो।
तर अन्तिम बिल भुक्तानीसम्बन्धी विवादका कारण काम लामो समयदेखि अलपत्र रहँदै आएको थियो। विवाद नेपाल मध्यस्थता परिषद्मार्फत उच्च अदालत र सर्वोच्च अदालतसम्म पुगेको थियो र हालै सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको छ।
घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाका अनुसार सडक निर्माण रोकिँदा स्थानीय बासिन्दाको दैनिक आवागमन प्रभावित भएको, नयाँ काम सुरु गर्न असम्भव भएको र वैकल्पिक निर्माण व्यवसायीमार्फत काम अघि बढाउन नमिल्ने भएकाले ठेक्का अन्त्य गर्नुपरेको हो।
सम्झौता अन्त्य भएसँगै अन्य वैकल्पिक सडक आयोजनाहरू अघि बढाउने बाटो खुलेको छ। विशेष गरी गाईघाट–गल्याङ–कटहरे मार्गको मौसमी खण्डका लागि रु ४० करोडको बजेटमा अब बोलपत्र आह्वान गर्न सकिने अवस्था बनेको छ।
अदालतको मुद्दाका कारण सडकका लागि उपलब्ध बजेट पनि पटकपटक ‘फ्रिज’ भएको थियो। देउराली–मानपुर खण्ड गण्डकी प्रदेश सरकारले, मानपुर–पोखरीछाप खण्ड ३.५ किलोमिटर सडक घिरिङ गाउँपालिकाले आन्तरिक बजेटबाट गत वर्ष कालोपत्र गरेको थियो। ठेकेदार पक्षले करिब रु चार करोड २५ लाख दाबी गरेको अवस्था रहेको जनाइएको छ।





























प्रतिक्रिया