गुल्मी। गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि पूर्ण रूपमा बन्द रहने भएको छ । राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने सत्यवती गाउँपालिकास्थित सिस्ने भिरमा सडक स्तरोन्नति गर्ने काम सुरु भएसँगै प्रशासनले यही चैत १ देखि ३० गतेसम्म सडकमा सवारीसाधन आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सडक डिभिजन कार्यालय पाल्पाका अनुसार सिस्ने भिरको उक्त खण्ड अत्यन्त साँघुरो र संवेदनशील रहेको छ । सडक कटिङ गर्दा ढुङ्गा खस्ने जोखिम उच्च हुने भएकाले दुर्घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सडक बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैह्रेले जानकारी दिए।
प्रशासनले बन्दको समयमा सवारीसाधन र यात्रुहरूको सुरक्षाको लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। वैकल्पिक मार्गको रूपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे र मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न सकिने कार्यालयले जनाएको छ ।
यस सडकखण्डमा दैनिक रूपमा धेरै सवारीसाधन सञ्चालन हुने भएकाले बन्दले यात्रु तथा व्यवसायिक सवारीमा असर पर्ने अपेक्षा गरिएको छ । प्रशासनले सार्वजनिक रूपमा सूचना जारी गरी सडक स्तरोन्नति कार्यका लागि आवश्यक सहयोग तथा सहजीकरण गर्न मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकालाई समेत पत्राचार गरेको छ ।
गत माघ २६ देखि फागुन १५ सम्म २० दिन आंशिक रूपमा सडक बन्द गरी स्तरोन्नति गरिएको थियो। अहिलेको बन्दले सडक स्तरोन्नतिको कामलाई पूर्णरूपमा अघि बढाउने र दुर्घटना जोखिम न्यून गर्ने लक्ष्य राखिएको छ ।





























प्रतिक्रिया