कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले १३३ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ ।
आर्थिक रूपमा विपन्न, दलित, जनजाति, महिला, अपाङ्गता भएका व्यक्ति, सहिद परिवार, द्वन्द्वपीडित तथा विदेशबाट फर्केका व्यक्तिलाई लक्षित गरी नगरपालिकाले चालु आर्थिक वर्षमा लघु तथा घरेलु उद्योग प्रवद्र्धन कार्यक्रमअन्तर्गत सीपमूलक तालिम सञ्चालन गरेको हो ।
कार्यक्रमअन्तर्गत काष्ठकला सम्बन्धी २०, ग्यास चुलो मर्मत सम्बन्धी २०, गुन्द्री बनाउने २०, खेलौना बनाउने १३, अटो ड्राइभिङ २०, दुना–टपरी बनाउने २० र फुट मसाज (सुत्केरी स्याहार) सम्बन्धी २० जनाले तालिम लिएका छन् । तालिम लिएका व्यक्तिलाई व्यवसाय सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले आवश्यक सामग्री पनि अनुदानमा उपलब्ध गराइएको उद्यम विकास सहजकर्ता धनबहादुर चौधरीले बताए ।
उनका अनुसार तालिमसँगै आवश्यक सामग्री उपलब्ध गराएर लक्षित समूहका व्यक्तिलाई आत्मनिर्भर बनाउने प्रयास गरिएको छ । तालिम लिएकामध्ये धेरैजना स्वरोजगारमा संलग्न भई व्यवसायिक गतिविधि सञ्चालन गरिरहेका छन् । तालिम लिएकामध्ये ३९ जनाले आफ्नै व्यवसाय सञ्चालन गर्न थालेका छन् ।
दुना–टपरी बनाउने तालिम लिएकी सरिता चौधरीले तालिमपछि दुना–टपरी उत्पादन गरी बजारमा बिक्री गरेर आम्दानी गर्न थालेको बताइन् । आधुनिक सिलाइ मेसिन अनुदानमा प्राप्त गरेका जगतबहादुर सिंहले गार्मेन्ट व्यवसाय विस्तार गर्न तालिमले सहयोग पुगेको बताए ।
तालिम लिनेमा १८ वर्षदेखि ५५ वर्ष उमेर समूहका छन्, जसमा धेरैजसो महिला छन् । नगरपालिकाका प्रवक्ता लालबहादुर ऐरले ‘हात–हातमा सीप र घर–घरमा रोजगारी’ पु¥याउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए ।





























प्रतिक्रिया