म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र

म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र

केन्द्रबिन्दु
15
Shares

म्याग्दी। म्याग्दीको बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत तेस्रो खण्ड (रणवाङ–दरवाङ) को निर्माण कार्य अलपत्र परेको छ।

रणनीतिक महत्वको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२ रणवाङदेखि मालिकाको केन्द्र दरवाङ जोड्ने आठ किलोमिटर सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित छ वर्षअघि आयोजना सुरु गरिएको थियो।

विसं २०७६ जेठ ३१ गते निर्माण कम्पनी बिरुवा–क्याराभान र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति ८७ प्रतिशत पुगेको कार्यालयले जनाएको छ।

रणवाङ–तोलावाङ खण्डमा गत वर्ष तीन किलोमिटर ३०० मिटर दूरीमा डिबिएसडी प्रविधिबाट कालोपत्र गरिएको थियो। ढाडखर्क र दरवाङ बजार क्षेत्रमा पर्खाल तथा नाली निर्माण अन्तिम चरणमा पुगेको छ। तर गत असार महिनायता सडक निर्माणको काम ठप्प छ।

चालु चैत महिनासम्म ठेक्काको म्याद रहेको योजनाका ठेकेदारलाई काममा फर्कन लिखित तथा मौखिक रूपमा पटक–पटक ताकेता गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ।

म्याग्दीको ‘लाइफलाइन’ मानिने बेनी–दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती भएको छ। धुलो, जोखिमपूर्ण सडक र दुर्घटनाको सम्भावनाका कारण यातायात सञ्चालनमा समस्या भइरहेको यातायात व्यवसायीहरूको भनाइ छ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गतको यो आयोजनामा निर्माण सामग्रीको अभाव, मजदुर र उपकरण परिचालनमा समस्या हुँदा निर्माण ढिलाइ भएको स्थानीयवासीको गुनासो छ।

निर्माण कम्पनी बिरुवा–क्याराभानका सञ्चालक चन्द्र थकालीका अनुसार नदीजन्य निर्माण सामग्रीको अभाव, पर्याप्त बजेट विनियोजन नहुनु, सम्झौतापछि कोरोना महामारी तथा विपद्का कारण निर्माणमा ढिलाइ भएको हो। एक–दुई दिनमै मजदुर र उपकरण ल्याएर काम सुरु गर्ने र एक महिनाभित्र बाँकी काम सम्पन्न गर्ने योजना रहेको उनले बताए।

बाङ्गेपहिरो प्रभावित सडकखण्डलाई ठेक्काबाट हटाइएको छ। पहिरो बाहेकका स्थानमा सडक फराकिलो बनाउने, नाली तथा पर्खाल निर्माणको काम सकिएको छ ।

गत आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको उक्त योजनाका लागि प्रदेश सरकारले थप १ करोड ५० लाख रकमान्तर गरेर भुक्तानी गरेको थियो। चालु आर्थिक वर्षमा २ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ। तर आठ महिना बितिसक्दा पनि वित्तीय प्रगति शून्य रहेको छ ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक २०६३ सालमा मार्ग खुलेको थियो। बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले समेत प्रयोग गर्ने भएकाले यस सडकलाई रणनीतिक महत्वको मानिन्छ ।

बेनीदेखि सिमसम्म १२ दशमलव पाँच किलोमिटर सडक चार वर्षअघि कालोपत्र भएको थियो भने सिम–पानाबगर खण्डको चार किलोमिटर सडक २०८१ जेठमा सम्पन्न भएको थियो।

गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले समन्वय र सहजीकरण गरे पनि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै सडक कालोपत्रको काममा ढिलाइ गरेको बताएका छन्। गत आर्थिक वर्षमा काम सम्पन्न गर्न पाँच करोड रुपैयाँ विनियोजन गरिएको भए पनि ठेकेदारले काम अघि नबढाएको उनले बताएका छन्।

यस वर्ष विनियोजन भएको बजेट अपुग भएमा थप बजेट व्यवस्थाका लागि पहल गर्ने र निर्माण व्यवसायीले अधुरा काम चाँडो पूरा गर्नुपर्ने उनले बताएका छन्।

Skip This
Skip This
Logo