पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वतको फलेबास–अर्मादी खण्डमा सडक स्तरोन्नतिको काम सुरु भएको छ। लामो समयदेखि बजेट अभाव र ढिलासुस्तीका कारण रोकिएको यो खण्ड अहिले पुनः निर्माण प्रक्रियामा आएको हो।
फलेबास नगरपालिका–६ ढिकदेखि कुश्मा नगरपालिका–४ अर्मादीसम्मको करिब १४ किलोमिटर सडक कालोपत्रेसहित स्तरोन्नति गरिनेछ। कालीगण्डकी लोकमार्ग आयोजना कार्यालय पाल्पाका अनुसार नवकान्तिपुर मैनाचुली–नाना जेभी कम्पनीले ६५ करोड ६१ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माणको जिम्मा पाएको छ ।
सम्झौताअनुसार सडक निर्माण कार्य ३६ महिनाभित्र पूरा गर्नुपर्नेछ। सडकलाई डबल लेनको बनाइनेछ भने सात मिटर चौडाइमा कालोपत्रे गरिने योजना छ ।
हाल अर्मादी क्षेत्रबाट कटिङ, नाली निर्माण र आवश्यक संरचना तयार गर्ने काम भइरहेको आयोजनाले जनाएको छ ।
यसअघि फलेबास–अर्मादी खण्ड ठेकेदारको ढिलासुस्ती र बजेट सुनिश्चित नहुँदा लामो समयसम्म अलपत्र परेको थियो। अहिले बजेट व्यवस्था भएपछि निर्माण कार्य अघि बढेको हो।
यो खण्ड सम्पन्न भएपछि कालीगण्डकी करिडोरअन्तर्गत पर्वत जिल्लाभित्रको सडक निर्माण पूरा हुने र उत्तर–दक्षिण यातायात सञ्जाललाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया