खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

केन्द्रबिन्दु
12
Shares

काठमाडौं ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित गोदाममा १९ हजार क्विन्टल चामल मौज्दात रहेको छ। जिरा मसिनो, अरुवा मसिनो र अरुवा मोटो गरी विभिन्न प्रकारका चामल गोदाममा थन्किएको कम्पनीले जनाएको छ।

नेपालगन्ज कार्यालयका प्रमुख रामशरण लामिछानेका अनुसार जिरा मसिनो र अरुवा मसिनो चामल पाँच–पाँच हजार क्विन्टल तथा अरुवा मोटो चामल नौ हजार क्विन्टल रहेको छ। यससँगै यस वर्ष खरिद गरिएको करिब १० हजार क्विन्टल धान पनि भण्डारणमा छ।

गोदाममा रहेको चामलको खुद्रा तथा थोक बिक्री भइरहेको छ। माग भएअनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लामा पनि चामल पठाउने कार्य भइरहेको छ। यस वर्ष मूल्य समायोजन भएपछि प्रतिक्विन्टल ५०० देखि ६०० रुपैयाँसम्म मूल्य घटेर आएको कम्पनीले जनाएको छ।

कर्णालीका हुम्ला, जुम्ला, कालीकोट, डोल्पा, मुगु र जाजरकोटस्थित डिपोमा हाल पर्याप्त चामल मौज्दात रहेको र आवश्यक परे थप आपूर्ति गर्न सकिने व्यवस्था गरिएको छ।

यस वर्ष बाँकेमा कम्पनीले करिब २० हजार क्विन्टल मात्र धान खरिद गरेको थियो। कोटा सीमित हुँदा धेरै किसानले बिक्रीका लागि ल्याएको धान खरिद हुन नसकी फिर्ता लैजानुपरेको थियो। सरकारले यस वर्ष मोटा र मध्यम धानका लागि तोकेको मूल्यका आधारमा खरिद गरिएको हो।

Logo