गण्डकी। तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा रहेको ॐ कृषि फार्मका सञ्चालक कविराज खनाललाई यतिखेर माग अनुसार सिप्लीकानका बिरुवा पु-याउन कठिन भइरहेको छ।
विगत छ वर्षदेखि सिप्लीकानको व्यावसायिक खेतीसँगै नर्सरी सञ्चालन गर्दै आएका खनालले यस वर्ष करिब ५० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य राखेका छन्। तर बढ्दो मागका कारण बिरुवा उपलब्ध गराउन चुनौती देखिएको छ। अघिल्लो वर्ष करिब आठ हजार बिरुवा उत्पादन गरी बिक्री गरिएको थियो, जसबाट करिब छ लाख बराबरको कारोबार भएको उनले जानकारी दिए।
पहाडी क्षेत्रमा पाइने बहुऔषधीय गुणयुक्त सिप्लीकान पछिल्ला वर्षहरूमा विभिन्न कारणले घट्दै गएको छ। यसको संरक्षणसँगै व्यावसायिक रूपमा विस्तार गर्ने उद्देश्यले आफू खेतीमा लागेको खनालले बताए। उनका अनुसार परम्परागत ग्रन्थहरूमा सिप्लीकानलाई शरीर शुद्धीकरण, ध्यान तथा दीर्घायुका लागि उपयोग गरिएको उल्लेख पाइन्छ।
खनालले कास्की र तनहुँका विभिन्न स्थानहरू सिप्लीकान खेतीका लागि उपयुक्त रहेको उल्लेख गर्दै यसको संरक्षण र प्रयोग विस्तारमा जोड दिँदै आएका छन्। कोभिड–१९ महामारीपछि यस खेतीमा सक्रिय भएका उनले उत्पादन विभिन्न जिल्लामा पुगिसकेको बताए।
व्यापारसँगै सामाजिक रूपमा पनि योगदान पु-याउँदै उनले आवश्यक परेकालाई निःशुल्क बिरुवा वितरण गर्दै आएका छन्। हाल बजारमा सिप्लीकानका बिरुवा प्रतिगोटा करिब एक सयदेखि १५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
सिप्लीकानलाई उच्च रक्तचाप, मधुमेह, जन्डिस तथा मिर्गौलामा हुने पत्थरीजस्ता समस्यामा उपयोगी मानिन्छ। यसलाई तरकारी, अचार तथा गुन्द्रुकका रूपमा पनि प्रयोग गर्न सकिन्छ। एकपटक रोपेपछि लामो समयसम्म उत्पादन लिन सकिने यसको विशेषता रहेको छ।
खनालको फार्ममा सिप्लीकानसँगै कुरिलो खेती पनि भइरहेको छ। यहाँ वार्षिक २० देखि २५ हजार कुरिलोका बिरुवा बिक्री हुने गरेका छन्। कुरिलोको टुसा तरकारीका रूपमा प्रयोग हुने र यसमा प्रोटिन, भिटामिन, फाइबर तथा क्याल्सियमजस्ता पोषक तत्व पाइने बताइन्छ।
फार्ममा आउने इच्छुकलाई उनले खेती प्रविधि, उपयोगिता र बजारीकरणसम्बन्धी जानकारी पनि दिँदै आएका छन्। यस कारण उनको फार्म कृषिसम्बन्धी ज्ञान सिक्ने केन्द्रका रूपमा समेत विकास हुँदै गएको छ।
खनाल व्यावसायिक कृषिसँगै पत्रकारिता र शिक्षण पेशामा पनि संलग्न छन्। उनी रेडियो नेपाल र एक राष्ट्रिय दैनिकमा संवाददाताका रूपमा कार्यरत छन्। वैदेशिक रोजगारीतर्फ आकर्षित हुने युवाहरूलाई स्वदेशमै सम्भावनायुक्त खेतीतर्फ लाग्न प्रेरित गर्दै उनले व्यावसायिक कृषिमा लाग्न चाहनेलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन्।





























प्रतिक्रिया