वीरगञ्ज। विसं २०८२ को ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा. विद्याप्रसाद पन्तलाई प्रदान गरिएको छ ।
नेपालको आँखा उपचार सेवा विस्तार र अन्धोपन निवारणमा योगदान पुर्याएबापत उनलाई उक्त पुरस्कार अर्पण गरिएको हो । पुरस्कारको राशी दुई लाख ५१ हजार १११ रुपैयाँसहित सम्मानपत्र रहेको छ ।
नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित केडिया आँखा अस्पतालको ५१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो ।
विसं २०३१ मा स्थापना भएको केडिया आँखा अस्पतालले हालसम्म २८ लाखभन्दा बढी बिरामीको परीक्षण र ४ लाखभन्दा बढी शल्यक्रिया गरिसकेको छ । पछिल्लो एक वर्षमा मात्र १ लाख ३७ हजारभन्दा बढीको परीक्षण र करिब १७ हजार शल्यक्रिया गरिएको जनाइएको छ ।
कार्यक्रममा अस्पतालले बारा र पर्साका सशस्त्र प्रहरीका बोर्डर आउटपोस्टका लागि २८ स्ट्रेचर तथा दृष्टिविहीन विद्यालयका लागि थप ३ स्ट्रेचर हस्तान्तरण गरेको छ । साथै, केडिया छात्रवृत्ति कार्यक्रमअन्तर्गत दृष्टिविहीन र श्रवण क्षमता कमजोर भएका ६ विद्यार्थीलाई जनही ११ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।
नेपाल नेत्रज्योति संघका अनुसार सन् २०२४ सम्मको अवधिमा २८ आँखा अस्पताल र २२६ उपचार केन्द्रमार्फत करिब ४ करोड ६८ लाखभन्दा बढीलाई सेवा दिइएको छ भने ५३ लाखभन्दा बढी शल्यक्रिया सम्पन्न भइसकेको छ ।





























प्रतिक्रिया