पौवादुङमाका किसान उद्यममा जोडिँदै

पौवादुङमाका किसान उद्यममा जोडिँदै

केन्द्रबिन्दु
12
Shares

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्न भूमिका खेलेको छ । परम्परागत निर्वाहमुखी कृषिमा सीमित किसान क्रमशः व्यावसायिक पशुपालनतर्फ उन्मुख हुँदै नियमित आम्दानीतर्फ अघि बढेका छन् ।

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको गाईबाट उत्पादन भएको दूध बिक्री गर्दै किसानले गाउँमै आयआर्जन गर्न थालेका छन् । यसले वैदेशिक रोजगारी र बाह्य आयस्रोतमा निर्भरता घटाउँदै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने वातावरण बनेको छ । श्यामशिलाका किसान निमदोर्ची शेर्पाका अनुसार अनुदानमा प्राप्त एक माउ गाईबाट मासिक रु आठदेखि १० हजारसम्म आम्दानी भइरहेको छ ।

गाउँपालिकाले श्यामशिला, तिवारीभञ्ज्याङ र च्याङ्ग्रे गरी तीन वडामा ३९ उन्नत जातका गाई वितरण गरेको थियो । दूध उत्पादन बढेसँगै बजार व्यवस्थापनका लागि श्यामशिलामै दुग्ध सङ्कलन तथा प्रशोधन गर्ने सानो उद्योग सञ्चालनमा आएको छ । किसानले उत्पादन गरेको दूध यही उद्योगमा बिक्री गर्दै आएका छन् ।

गत आर्थिक वर्षमा ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ अन्तर्गत रु ५० लाख बजेट विनियोजन गरेर गाई वितरण गरिएको हो । किसानलाई दीर्घकालीन रूपमा उद्यमशीलतामा जोड्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । वितरण गरिएका गाईको अनुगमन, स्वास्थ्य परीक्षण र प्राविधिक सहयोगसमेत उपलब्ध गराइँदै आएको छ ।

चालु आर्थिक वर्षमा पनि गाउँपालिका र किसानको लागत साझेदारीमा करिब रु ३० लाख बराबरको गाई वितरण कार्यक्रम सञ्चालन गर्ने योजना छ । गाईसँगै उन्नत जातको घाँस, घाँस उत्पादनसम्बन्धी तालिम तथा ‘च्याप कटर’जस्ता उपकरण पनि वितरण गरिएको छ ।

दूध उत्पादनमा आत्मनिर्भरता हासिल गर्दै किसानको जीवनस्तर उकास्ने लक्ष्यसहित ‘दुग्ध मिसन कार्यक्रम’ सञ्चालनमा छ । यस कार्यक्रमबाट किसान गाउँमै बसेर आम्दानी गर्न थालेका छन् ।

पौवादुङमा–१ मा मात्र २१ किसानलाई गाई वितरण गरिएको छ । उत्पादन बढेसँगै व्यापारी गाउँमै आएर दूध किन्ने गरेका छन् भने केही दूध भोजपुर सदरमुकामसम्म पुग्न थालेको छ ।

गाई र भैँसी पालनसँगै उत्पादन हुने प्राङ्गारिक मलको उपयोगका लागि ‘एक घर एक फलफूल’ बगैँचा कार्यक्रम पनि सञ्चालनमा छ । पशुपालन र कृषिलाई आधुनिक तथा व्यावसायिक बनाउँदै स्थानीय अर्थतन्त्र मजबुत बनाउन कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।

Logo