काठमाडौं । मंगलबार नेप्से परिसूचकले ८ महिनापछिको सबैभन्दा उच्च विन्दु छोएको छ । आज २०.७० अंकको वृद्धिसँगै सूचक २९५७.२६ विन्दुमा बन्द भएको हो । यो स्तर गत साउन १३ यताको उच्च हो ।
बजार खुलेपछि देखिएको सामान्य उतारचढावलाई पछिल्लो घण्टामा पूर्ण रूपमा उल्टाउँदै सकारात्मक बन्द भएको छ । आज कारोबार रकम पनि उल्लेख्य रह्यो । १ लाख २५ हजारभन्दा बढी कारोबारबाट ३ करोड ५४ लाख कित्ता सेयर किनबेच हुँदा कुल १४ अर्ब ५८ करोड ६७ लाख रुपैयाँको कारोबार भयो ।
व्यापार समूहले सबैभन्दा तीव्र ९.१२ प्रतिशतको उछाल गरेको छ । यसमा विशाल बजार कम्पनीको ९.९१ प्रतिशत वृद्धिले निर्णायक भूमिका खेलेको छ । त्यस्तै विकास बैंक समूह र हाइड्रोपावर समूहले पनि एक प्रतिशतभन्दा बढी सुधार देखाएका छन् । बैंकिङ, फाइनान्स, उत्पादन तथा प्रशोधन समूहमा समेत सकारात्मक वृद्धि छ । तर होटल तथा पर्यटन, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूह भने सामान्य गिरावटमा रहे ।
त्यसैगरी आज तीन कम्पनी विशाल बजार, सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सले सकारात्मक १० प्रतिशतको सर्किट ब्रेक लगाएका छन् । यस्तै सोल्टी होटल, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इन र सिन्धु विकास बैंकको मूल्य पनि १० प्रतिशत नजिकै बढेको छ भने फस्र्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशत घटेको छ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर ५.११ प्रतिशत र मेरो माइक्रोफाइनान्स ४.५३ प्रतिशतले घटेका छन् ।
आज कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी शीर्ष स्थानमा छ । यसको ६६ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । समग्रमा आज ११६ कम्पनीको मूल्य बढ्दा १३५ को घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ ।
बजारको यो उत्साहजनक प्रदर्शनले लगानीकर्तामा सकारात्मक भावना कायम गरेको छ ।





























प्रतिक्रिया