म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकको स्तरोन्नति सुरु गरिएको छ। विसं २०६६ मा मार्ग खुलेको यो सडक लामो समय सामान्य मर्मतको भरमा सञ्चालन हुँदै आएको थियो।
मालिका गाउँपालिकाले बतासे–फुलबारी खण्डमा स्तरोन्नति कार्य सुरु गरेको हो। प्रदेश समपुरक शीर्षकअन्तर्गत चालु आर्थिक वर्षमा रु. १ करोड बजेट विनियोजन गरिएको छ भने मंगला कन्ट्रक्सनले रु. ६५ लाख २३ हजार ४३२ मा ठेक्का सम्झौता गरेको छ।
आगामी असार १५ भित्र काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनीले डोजर परिचालन गरेर सडक फराकिलो पार्ने कामलाई तीव्रता दिएको छ। हाल ३.५ देखि ४ मिटर चौडाइको सडकलाई कम्तीमा ६ मिटर बनाउने काम भइरहेको छ। भित्ता काट्ने कार्यसँगै नाली, ग्रेड मिलाउने, ग्यावियन, पक्की पर्खाल र ढलानको काम गरिनेछ।
प्राविधिक शाखाका अनुसार आयोजनाअन्तर्गत ११ हजार घनमिटर भित्ता काटिने, ४४५ घनमिटर ग्यावियन पर्खाल, २५४ घनमिटर नाली, २५० घनमिटर ढलान र २७ घनमिटर पक्की पर्खाल निर्माण हुनेछन्। यसअघि थापाचौर–देविस्थान खण्डमा स्तरोन्नति गरिएको थियो।
यो सडक मालिका गाउँपालिकाका वडा २, ३ र ४ तथा बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्दै आएका छन्। गाउँपालिकाले यसलाई चालु आर्थिक वर्षको प्राथमिकताप्राप्त आयोजना मानेको छ।































प्रतिक्रिया