जलेश्वर। जलेश्वर–३ मलिवाडामा प्रस्तावित सुक्खा बन्दरगाह निर्माण अझै सुरु हुन सकेको छैन । चार वर्षअघि घोषणा गरिएको योजना कार्यान्वयनमा नआउँदा स्थानीय व्यापारी निराश बनेका छन् ।
आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा २०२७ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर हालसम्म निर्माण प्रक्रिया अघि बढ्न नसकी योजना कागजमै सीमित रहेको छ ।
यो भन्सार नाका महोत्तरी र धनुषाका लागि प्रमुख व्यापारिक मार्ग हो । यहाँ सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी बनेमा भारत र तेस्रो मुलुकसँगको आयात–निर्यात सहज हुने अपेक्षा गरिएको छ ।
भारतीय पक्षले सीमापार भिठ्ठामोड क्षेत्रमा संरचना निर्माण अघि बढाइसकेको भए पनि नेपालतर्फ भने काम सर्वेक्षणमै सीमित छ ।
बन्दरगाह निर्माणका लागि करिब ६५ बिघा जग्गा व्यवस्थापनको प्रक्रिया अघि बढाइए पनि अन्तिम निर्णय हुन सकेको छैन । प्रत्येक निर्वाचनमा मुख्य एजेन्डा बन्ने यो योजना अझै कार्यान्वयनमा नआउँदा स्थानीय स्तरमा असन्तुष्टि बढ्दो छ ।





























प्रतिक्रिया