तेह्रथुम। तेह्रथुमको फेदाप क्षेत्रलाई जिल्ला सदरमुकामसँग जोड्ने मध्यपहाडी लोकमार्गअन्तर्गतको खोरङ्वा खोलादेखि यावरासम्मको करिब १० किलोमिटर सडक १० वर्ष बित्दा पनि अलपत्र अवस्थामा रहेको छ।
२०७२ सालमा गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीसँग करिब ३९ करोड १८ लाख रुपैयाँ लागतमा २०७४ भित्र कालोपत्रे गर्ने सम्झौता भए पनि परियोजना अझै पूरा हुन सकेको छैन। सम्झौता अनुसार समयमै सम्पन्न हुनुपर्ने सडकमा हालसम्म ७ पटक म्याद थप भइसकेको छ भने ८औँ पटक म्याद थप गर्ने तयारी भइरहेको छ। निर्माण कम्पनी भने सम्पर्कविहीन अवस्थामा रहेको जनाइएको छ।
कुल ११९ किलोमिटरमध्ये १०९ किलोमिटर कालोपत्रे भइसके पनि फेदापको यही १० किलोमिटर खण्डले दशकदेखि पूर्णता पाउन सकेको छैन।
सडक अधुरो हुँदा स्थानीयवासी दैनिक जीवनमा गम्भीर समस्यामा परेका छन्। हिउँदमा धुलोले घर–खेत ढाक्ने र बर्खामा हिलो तथा पहिरोको जोखिम बढ्ने समस्या देखिएको छ। यातायात अवरुद्ध हुँदा विद्यार्थी, बिरामी र सामान्य यात्रु सबै प्रभावित बनेका छन्। स्थानीयवासीका अनुसार सडक नबन्दा स्वास्थ्य, शिक्षा र बजार पहुँच सबै कठिन बनेको छ भने चालकहरूले निरन्तर आर्थिक नोक्सानी र दुर्घटनाको जोखिम व्यहोर्नुपरेको छ।
पर्यटन व्यवसायीहरूले भने सडक सम्पन्न भए क्षेत्रमा होमस्टे र पर्यटन विकासको ठूलो सम्भावना भए पनि हालको अवस्थाले त्यो सम्भावना रोकिएको बताएका छन्। स्थानीयहरूले सरकार र सम्बन्धित निकायको कमजोर अनुगमनका कारण आयोजना अलपत्र परेको आरोप लगाउँदै तत्काल काम अघि बढाउन माग गरेका छन्।
दशक लामो प्रतीक्षापछि पनि अधुरो रहेको यो सडक आयोजना विकासको प्रतिबिम्ब होइन, व्यवस्थापकीय असफलताको उदाहरण बनेको स्थानीयको भनाइ छ।































प्रतिक्रिया