जलजलामा भएको मोटरबाटो विवाद मिलापत्रमार्फत समाधान

जलजलामा भएको मोटरबाटो विवाद मिलापत्रमार्फत समाधान

केन्द्रबिन्दु
297
Shares

पर्वत । जलजला गाउँपालिका–२ बगरफाँटमा लामो समयदेखि चल्दै आएको मोटरबाटो सम्बन्धी विवाद अन्ततः मिलापत्रमार्फत समाधान भएको छ। स्थानीयबीच उत्पन्न भएको विवाद न्यायिक समितिको संयोजनमा आपसी समझदारी, सहमति र संवादमार्फत टुंग्याइएको हो।

विवादका कारण अवरुद्ध बनेको सडक अब ३ मिटर चौडाइ कायम गरी सञ्चालन गर्ने सहमति भएको गाउँपालिकाले जनाएको छ। सहमतिसँगै स्थानीयवासीको आवागमन सहज हुने भएको छ भने लामो समयदेखिको तनाव पनि अन्त्य भएको छ।

गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले संवाद, धैर्यता र सकारात्मक सोचका माध्यमबाट समाधान सम्भव भएको बताउँदै मिलापत्र केवल कानुनी प्रक्रिया मात्र नभई आपसी विश्वास र सम्बन्ध बलियो बनाउने महत्वपूर्ण कदम भएको उल्लेख गरे। उनले यस्तो सहमतिले समुदायमा शान्ति, सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले भने “लामो समयदेखि चलिरहेको विवाद आज न्यायिक समितिको संयोजनमा आपसी समझदारी र मेलमिलापमार्फत समाधान भएको छ। अबरुद्ध बाटो ३ मिटर कायम गर्ने सहमति भएको छ । यसले देखाएको छ कि संवाद, धैर्यता र सहकार्यबाट जुनसुकै विवाद पनि समाधान गर्न सकिन्छ।”

विवाद समाधानका क्रममा न्यायिक समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, सरोकारवाला व्यक्ति तथा दुवै पक्षको संयमता र सहकार्यले महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ। सबै पक्षले लचकता देखाउँदै सहमतिमा पुग्दा समस्या सहज रूपमा समाधान भएको स्थानीयको भनाइ छ।

गाउँपालिकाले आगामी दिनमा पनि यस्ता विवादहरू संवाद र सहकार्यकै माध्यमबाट समयमै समाधान गर्ने प्रतिबद्धता जनाएको छ। यस घटनाले स्थानीय तहमा न्यायिक समितिको भूमिका प्रभावकारी रहेको समेत देखाएको छ।

Logo