काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ६०औं वार्षिक साधारणसभा तथा निर्वाचन नजिकिँदै गर्दा वस्तुगत संघतर्फको उपाध्यक्ष पदमा दुई शक्तिशाली व्यवसायीबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । बागमती पेपर इन्डस्ट्रीजका अध्यक्ष नरेशलाल श्रेष्ठ र ऊर्जा, ग्यास तथा विद्युतीय सवारी क्षेत्रका सफल उद्यमी शिवप्रसाद घिमिरेबीच यो पदका लागि सीधा भिडन्त हुने देखिएको हो ।
चैत २९ र ३० गते हुने साधारण सभामा पुरानै विधानअनुसार अन्जन श्रेष्ठ महासंघको अध्यक्ष बन्ने निश्चित छ । तर अन्य पदहरूमा निर्वाचन हुने भएको छ । नयाँ कार्यसमिति ८१ सदस्यीय हुने भए पनि वस्तुगत उपाध्यक्ष पद भने दुवै उम्मेदवारले आफ्नो प्यानलसहित दाबी गरेका छन् ।
सोमबार मात्र दुवैले आफ्ना प्यानल घोषणा गरेका थिए । श्रेष्ठले हेमराज ढकालको वरिष्ठ उपाध्यक्ष प्यानलबाट र घिमिरेले आफ्नै नेतृत्वमा वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । नरेशलाल श्रेष्ठले आफूलाई ‘सबै क्षेत्र समेटिएको बलियो टिम’ को नेतृत्वकर्ताको रूपमा प्रस्तुत गरेका छन् । बागमती आट्र्स एण्ड ह्यान्डीक्राफ्ट्सका प्रोपाइटर, ब्राइट पावर कम्पनीका प्रबन्ध निर्देशक, शुभ लक्ष्य डेभलपर्स र स्वर्णिम होटलका अध्यक्ष तथा नेपाल क्यान्सर हस्पिटलका सञ्चालकका रूपमा उनी लामो समयदेखि उद्योग–व्यवसायमा सक्रिय छन् ।
श्रेष्ठले महासंघमा कार्यकारी सदस्य, निर्यात प्रवद्र्धन समितिका सभापति, नेपाल निर्यात परिषद्का निवर्तमान अध्यक्ष, नेपाल ऊन फेल्ट उत्पादक संघका अध्यक्ष र नेपाल जर्मन चेम्बर अफ कमर्सका उपाध्यक्ष भएर काम गरिसकेका छन् । सामाजिक क्षेत्रमा पनि हरिमाया फाउन्डेसनमार्फत शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनमा उनी निरन्तर सक्रिय छन् ।
उनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल, महिलातर्फको उपाध्यक्षमा कमला श्रेष्ठ र सदस्यहरूमा भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदुर धमला, सुरज बञ्जाडे, विप्लव अधिकारी, सुनैना घिमिरे पाण्डे र सुधिर पराजुली रहेका छन् । कृषि, पर्यटन, निर्यात, आईटी, घरजग्गा, जलविद्युतलगायत सबै क्षेत्रलाई समेटेर टिम बनाएको भन्दै श्रेष्ठले ‘यो टिमको जित सुनिश्चित छ’ भनेका छन् ।
त्यस्तै, यता शिवप्रसाद घिमिरेले भने ‘सशक्त महासंघ, सुरक्षित निजी क्षेत्र’ नाराका साथ आफ्नो उम्मेदवारीलाई एजेन्डामुखी बनाएका छन् । सानो नाङ्लो पसलबाट सुरु गरेर ग्यास, जलविद्युत, विद्युतीय सवारी र पेट्रोल पम्पसम्म फैलिएको आफ्नो व्यवसायिक यात्रालाई उनले ‘मेहनत र दूरदृष्टिको परिणाम’ भनेका छन् ।
नेपाल पेट्रोलियम डिलर एशोसिएसनका पूर्वअध्यक्ष, नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष, राष्ट्रिय व्यापार पहल (एनबीआई) का संस्थापक सदस्य र राष्ट्रिय दुग्ध विकास बोर्डका पूर्वसदस्यका रूपमा घिमिरेले निजी क्षेत्रको हकहितमा लामो समय काम गरेका छन् । हाल महासंघको कार्यकारी समिति सदस्य तथा सडक यातायात तथा पारवहन समितिका सभापतिको जिम्मेवारी सम्हालिरहेका छन् ।
उनले घोषणा गरेको प्यानलमा अरनिको राजभण्डारी, रविन पुरी, राजकुमार कार्की, वसन्तचन्द्र मरहट्टा, सुनिता न्हेमाफुकी, संघर्ष विष्ट, रघुनन्दन मारु, राजेशभक्त श्रेष्ठ, होम प्रसाद घिमिरे, धन प्रसाद लामिछाने, धर्मराज सापकोटा, कृष्णप्रसाद अवाले, एब बहादुर थापा, विश्वनाथ खनाल, नानीराज घिमिरे र ध्रुब बहादुर गौतम रहेका छन् ।
यतिबेला दुवै उम्मेदवारले आफ्नो टिमलाई ‘सबैभन्दा बलियो’ भने पनि निर्वाचन नजिकिँदै गर्दा वस्तुगत संघहरूमा नयाँ चासो र चर्चा बढेको छ । अनुभव, सामाजिक योगदान र संस्थागत नेतृत्वको हिसाबले श्रेष्ठ अगाडि देखिए पनि एजेन्डा, नयाँ ऊर्जा र साना–मझौला उद्योगप्रतिको प्रतिबद्धताले घिमिरेलाई पनि उत्तिकै शक्तिशाली बनाएको छ । योबारे छिट्टै निर्वाचनले कसले वस्तुगत उपाध्यक्ष पदको नेतृत्व हात पार्छ भन्नेबारे टुङ्गो लागाउने छ । तर दुवैको उम्मेदवारीले महासंघलाई नयाँ दिशा दिने पनि अपेक्षा व्यवसायीहरूले गरेका छन् ।





























प्रतिक्रिया