सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गुर्जागाउँ

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गुर्जागाउँ

केन्द्रबिन्दु
3
Shares

म्याग्दी । धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । यससँगै म्याग्दीका सबै स्थानीय तहका ४५ वटै वडामा सडक पहुँच पुगेको छ ।

लुलाङ–गुर्जा सडक योजनामार्फत गुर्जासम्म ट्र्याक खोलिएपछि पहिलोपटक जिप पुगेको स्थानीयले बताएका छन् । यसअघि गाउँ पुग्न घण्टौँ पैदल यात्रा गर्नुपर्ने अवस्था थियो ।

करिब १८ किलोमिटर सडक ट्र्याक यसअघि नै खोलिएकोमा चालु आर्थिक वर्षमा थप विस्तार गरेर गुर्जासम्म यातायात जोडिएको हो । अब गुर्जाबाट करिब साढे दुई घण्टामा पालिका केन्द्र मुना, पाँच घण्टामा बेनी र करिब सात घण्टामा पोखरा पुग्न सकिने भएको छ ।

सडक पुगेपछि बिरामीलाई अस्पताल पुर्‍याउन, कृषि तथा जडीबुटी ढुवानी र दैनिक उपभोग्य सामग्री ओसारपसारमा सहज भएको स्थानीयले बताएका छन् । साथै गाउँमा पर्यटकीय गतिविधि पनि बढ्न थालेको छ ।

प्रदेश र संघीय सरकारको लगानीमा सडक सुधार, नाला निर्माण र पुल निर्माणका काम समेत अघि बढाइएको छ ।

Logo