म्याग्दी । मङ्गला गाउँपालिका–३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति भएको छ । मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडकको पखेर–आलडाँडा खण्ड स्तरोन्नति गरिएको हो ।
गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत तीन किलोमिटर ५०० मिटर दूरीमा सडक ग्राभेल र ढलान गर्न आर्थिक वर्ष २०८०/८१ देखि पखेर–बरङ्जा–३ र ४ हुँदै महेश–धापुङ–ताराखोला सडक योजना निर्माण सुरु गरेको थियो ।
निर्माण कम्पनीले विसं २०८१ असारमा रु पाँच करोड ८६ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको योजना निर्धारित समयमै सम्पन्न भएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर महेन्द्र बानियाँले जानकारी दिए । “अठार महिनाको ठेक्का अवधि भएको यो योजनाको लक्ष्यअनुसार भौतिक प्रगति भएको छ,” उनले भने, “बजेट अभावका कारण निर्माण व्यवसायीलाई भुक्तानी दिन नसक्दा वित्तीय प्रगति भने कम छ ।”
विसं २०६६ मा मार्ग खुलेको यस सडकलाई सात मिटर चौडाइमा फराकिलो बनाएर नाली र टेवा पर्खाल निर्माण गरिएको छ । घुम्ती र उकालोमा पाँच सय ५० मिटर सडक ढलान गरिएको छ भने ग्रेड र घुम्ती सुधार गरिएको छ ।
बरङ्जा खर्कटोलका मिलन रोकाका अनुसार यसअघि तीनदेखि तीन दशमलव पाँच मिटर फराकिलो कच्ची सडक, नमिलेको ग्रेड र साँघुरो घुम्तीका कारण जोखिमपूर्ण थियो । “यसअघि जिप, ट्याक्सी र ट्रयाक्टर मुस्किलले चल्ने यो सडकमा अहिले दश चक्के ट्रक गाउँमै आउन थालेका छन्,” उनले भने, “बरङ्जादेखि बेनी पुग्न एक घण्टा लाग्थ्यो, अहिले ३० मिनेटमै पुगिन्छ ।”
भिरालो पाखाको घुम्तीमा गाडी पार गराउन पछाडि लैजानुपर्ने समस्या हटेको छ । बरङ्जामा उत्पादन हुने दूध, सुन्तला, तरकारीलगायत कृषि उपज बजारसम्म पुर्याउन सहज भएको छ । थामडाँडा–सुर्केमेला हुँदै घुमाउरो कच्ची सडक प्रयोग गर्नुपर्ने बाध्यता हटेको बताइएको छ ।
सडक स्तरोन्नति भएपछि स्थानीयवासी उत्साही भएका छन् । सडक निर्माण समितिका तत्कालीन अध्यक्ष मोहनलाल सापकोटाका अनुसार अप्ठ्यारो खण्डमा सडक सहज बनेको छ । पखेरदेखि झाँक्रीपानीसम्मको ११ किलोमिटर सडक स्तरोन्नति गर्न सके थप सहज हुने अपेक्षा गरिएको छ ।
बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविक गाविस हो । मङ्गला गाउँपालिकाका ३, ४, ५ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने रणनीतिक महत्वको सडक भएकाले स्तरोन्नतिमा प्राथमिकता दिइएको प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए ।
चालु आर्थिक वर्षमा रु एक करोड ३९ लाख बजेट विनियोजन गरिएको यस योजनामा निर्माण व्यवसायी जीवन रोकायाको रु ८० लाख भुक्तानी बाँकी रहेको छ । निर्माण सामग्री आपूर्तिकर्ता र मजदुरलाई ज्याला दिन समस्या भएको गुनासो गरिएको छ ।





























प्रतिक्रिया